देशभर बर्षाको सम्भावना, यी प्रदेशमा ठूलो पानी पर्ने


काठमाडौं । आज (शुक्रबार) देशभर बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । केहि प्रदेशमा ठूलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू–भाग, मधेस प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भाग, मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो । मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।
५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।
यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ ।
त्यस्तै ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ । त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।