मानवीय क्षति नहुनेगरी विपद् व्यवस्थापनका काम गरिएको छ: गृहमन्त्री अर्याल


काठमाडौँ, १८ असोज ः गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुनेगरी पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका काम भइरहेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमिकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताउनुभयो । विपद्का समयमा गतल फाइदा उठाउन खोज्ने प्रवृत्तिविरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यसविरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।”
सङ्कटका बेला सुशासनको महत्त्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाईका साथ कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । “सानोभन्दा सानो कमजोरीले नयाँ परिस्थितिको जन्म हुनसक्छ, हाल राजनीतिक परिस्थिति पनि जटिल छ”, उहाँले भन्नुभयो, “व्यापक असन्तुष्टि छ, यहीबीचमा सरकार, संयन्त्र र कर्मचारीको कमिकमजोरीले नाजायज काम भए राज्यप्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ । त्यसैले सबै सतर्क रहन आवश्यक छ ।”
—