दैनिक सुन आयात कोटा अब २५ किलो, रेमिट्यान्स सीमा कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ ।
यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पचीस) किलोग्राम कायम गरिएको छ’, संशोधित व्यवस्थामा उल्लेख छ । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण गर्छन् । बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ । साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो ।
दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । पछिल्लो समयमा वाणिज्य बैंकहरुले पनि सुन आयात नगरेको अवस्था छ । असोज २० गतेसम्ममा बैंकहरुसँग ३२ किला मात्रै सुन बक्यौता रहेको बैंकहरू बताउँछन् । नेपाल बैंकर्स संघका अनुसार बुधबार मात्रै सानिमा बैंकले ५० किलो सुन आयात गरिसकेको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकले शुक्रबार सोही परिमाणमा सुन आयात गर्ने संघले जनाएको छ । लगानीकर्ताका लागि तुलनात्मक रुपमा सुनको लगानी सुरक्षित हुने भएकाले पनि माग बढेको सुन चाँदी व्यवसायीहरू बताउने गरेका छन् । शुक्रबार मात्रै प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार कायम भएको छ ।
त्यसैगरी केन्द्रीय बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्याएको हो । केन्द्रीय बैंकका अनुसार नेपाली÷विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म-कम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म ल्याउन सकिन्छ । यसरी विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।