`

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान थालियो

Nepal One HD २७ असोज २०८२ ९:०३
प्रमुख खबर

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान थालेको छ ।

यही प्रकरणमा पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्व उपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जनाए।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
पूर्व उपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ समेत परेका दिपेश हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको सूचना रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यस्तै तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङ समेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *