`

पूर्व सभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे आठ करोड बिगो दावी

Nepal One HD २७ असोज २०८२ १७:०३
अपराध

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौैँमा मुद्दा दर्ता गरेको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

उनी यही विषयमा २०८० चैत ५ गते पनि पक्राउ परेका थिए । यसअघि पनि पक्राउ गरेकाले महराविरुद्धको अनुसन्धानका लागि धेरै समय नलाग्ने भन्दै मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही विषयमा केही दिनअघि बयान लिएको थियो । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन् ।

भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए । भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *