विशेष महाधिवेशन माग्दै कांग्रेसमा कतिले गरे हस्ताक्षर ?


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै दुई हजार ४६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनीहरुले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ । विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान चलाएका थिए । हस्ताक्षर अभियानमा रहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार दुई ४६४ जनाको नामावली अहिले ‘इन्ट्री’ भइसकेको छ । कांग्रेसका चार हजार ३४७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
‘नियमित महाधिवेशनमा जाने निर्णय गर्ने हो भने त्यहीअनुसार क्यालेन्डर आउनुप¥यो’, उनले भने, ‘होइन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर प्रयोग हुन्छ ।’ उनका अनुसार ७७ वटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ‘कुनै जिल्लाका कम र कुनै जिल्लाका बढी होलान् तर सबै जिल्लाका प्रतिनिधिको हस्ताक्षर रहेको छ’, उनले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो ।
मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने बताइएको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन् ।