`

सर्लाहीको बागमतीमा निःशुल्क आँखा शिविरमा ३६१ जनाको आँखाको शल्यक्रिया

Nepal One HD ३० असोज २०८२ २१:३३
जीवनशैली/स्वास्थ्य

बरहथवा (सर्लाही), ३० असोजः सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।आज सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिनुभयो । यही असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए ।

शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो । मोतियाबिन्दुले दुवै आँखा धमिलो भएपछि आफूलाई समस्या भएको भन्दै गाउँमै निःशुल्क सुविधा सम्पन्न सेवा पाउँदा खुसी लागेको ७५ वर्षीया विवीकुमारी मोक्तानले बताउनुभयो ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताउनुभयो ।

यसैबीच शिविर समापनको अवसर पारेर तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटनसमेत गरिएको छ । यस क्षेत्रका नागरिकलाई सुविधा पुर्याउने उद्देश्यसहित क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा स्थापना भएको केन्द्रको विधिवत उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवन कर्मैयाबाट सेवा प्रवाह हुने गरी केन्द्रको उद्घाटन गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रमा कम्प्युटर विधिबाट आँखा जाँच गर्नेदेखि चश्मा बनाएर वितरण गर्ने तथा मोतियाबिन्दुको शल्यक्रिया गर्नेसम्मको सुविधा प्रदान हुने सहयोगी संस्थाकी नेपाल निर्देशक पुनम भण्डारीले बताउनुभयो । शिविर समापन तथा केन्द्र उद्घाटन समारोहमा बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामा, कार्यवाहक उपप्रमुख रुपा बम्जनलगायत स्थानीयको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *