`

शनिबार बिहानको रैथाने बजार : किसान र ग्राहकबीचको सिधा भेट

Nepal One HD १ कार्तिक २०८२ १०:३४
फिचर

 काठमाडौँ ।  शनिबार बिहान लाजिम्पाट, काठमाडौंको बुकि होटल परिसरमा चहलपहल छ। रेडिसन होटल नजिकैको आँगनमा किसानहरू आफ्ना उत्पादन सिँगारेर राखिरहेका छन्, कसैको टोकरीमा ताजा सागसब्जी छन्, कसैको टेबुलमा अचार, गुन्द्रुक, धूप, इत्र र घरेलु मिठाइहरू।

तिहार नजिकिँदै छ। त्यसैले बजारमा आज ग्राहकहरू बढी देखिन्छन्। यहाँ किनमेल गर्न आएकी सन्ध्या श्रेष्ठ भन्छिन्, “तिहारका लागि फूल, अचार र गुन्द्रुक किनें। सबै सामान ताजा र भरपर्दो लागे।” त्यस्तै राजु अधिकारी भन्छन्, “यहाँ किसानसँग सिधै कुरा गर्न पाइन्छ, त्यो कुरा बजारको भन्दा फरक अनुभव हो।”

यो बजारको व्यवस्थापन रैथाने एग्रो प्रोडक्ट्स नेपालले गरेको हो। संस्थाका अध्यक्ष तिलक दाहालका अनुसार बजार २०८० साउन १ गतेदेखि सुरु भएको हो।” पहिलो बजार दरबारमार्गमा सुरु भयो, त्यसपछि बुढानीलकण्ठ, नागार्जुनको स्वितातर, टोखाको धापासी हुँदै अहिले लाजिम्पाटमा पाँचौं बजार सञ्चालनमा छ। अब छिट्टै सामाखुसीमा पनि विस्तार गर्ने योजना छ।”

दाहाल भन्छन्, “हामीले रैथाने कृषि र सिपलाई जोगाएर बजारसँग जोड्ने प्रयास गरेका हौं। किसान र उपभोक्ता सिधा सम्पर्कमा आउँदा बिचौलियाको आवश्यकता पर्दैन।” उनका अनुसार पाँच स्थानमा कम्तीमा २५० किसान, साना व्यवसायी र उद्यमी सहभागी छन्। ती बजारमा ५५ जिल्लाका करिब ५५० स्थानीय र स्वदेशी उत्पादनहरू उपलब्ध छन्।

दाहालका अनुसार किसानहरूको आत्मबल पनि बढेको छ। “कसरी प्याकेजिङ, ब्रान्डिङ र बजार विस्तार गर्ने भन्ने कुरा उनीहरू सिक्दै छन्,” उनले भने।

ग्राहक समीक्षा ढकालले भनिन्, “पहिले यस्तो बजारमा आउँदा उत्पादनको गुणस्तरबारे निश्चिन्त हुन सकिन्थेन। अहिले किसानहरू आफैं जिम्मेवार भएर ल्याउँछन्, त्यसैले विश्वास बढेको छ।”

दाहालले भने, “हाम्रो भूमिमा फलेको अन्न र हाम्रो हातले बनेको सामान नै स्वास्थ र सुखको आधार हो। यस्ता बजारले वातावरणमैत्री अभ्यास पनि बढाएका छन्।”
रैथाने एग्रो प्रोडक्ट्स नेपालले अहिले ५ स्थानमा यस्ता बजार सञ्चालन गरिरहेको छ। दाहाल भन्छन्, “हामीले कम्तीमा २० ठाउँमा विस्तार गर्ने लक्ष्य राखेका छौं। अझ धेरै किसान र ग्राहकसम्म पुग्न चाहन्छौं।”

लाजिम्पाटको शनिबार बिहानको त्यो रौनक केवल किनबेचको दृश्य होइन—त्यो आत्मनिर्भरता, स्वदेशी उत्पादनप्रतिको गर्व र स्वास्थ्यप्रतिको सचेतताको प्रतीक हो। किसानको आत्मबल, ग्राहकको सन्तुष्टि र प्रकृतिप्रतिको जिम्मेवारी एउटै थलोमा मिसिएको यो हाट बजार आज नेपाली समाजमा ‘रैथाने अर्थतन्त्र’को नयाँ रूप बनिरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *