`

तिहारमा मिठाईको स्वाद मात्र होइन, स्वास्थ्यकाे पनि गर्नुहोस् ख्याल

Nepal One HD ६ कार्तिक २०८२ ९:०३
जीवनशैली/स्वास्थ्य

काठमाडौं । दीपावली अर्थात् तिहार हाम्रो संस्कृतिमा रमाइलो, प्रेम र मेलमिलापको पर्व हो । झिलिमिली बत्ती, पूजा–आराधना र दिदीबहिनी–दाजुभाइको स्नेह साटासाटसँगै मिठाई र पकवानको विशेष महत्व हुन्छ । तर, यिनै स्वादिलो परिकारहरू अत्यधिक वा असावधानीपूर्वक सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

पर्वमा प्रचलित परिकारहरू

तिहारमा प्रायः घरघरमा बनाइने सेलरोटी, लड्डु, बर्फी, फिनी, अनरसा, खजुरी, अर्सा जस्ता मिठाई प्रचलित छन् । यी परिकारले सांस्कृतिक मिठास त थप्छन् तर धेरै चिल्लो र चिनी मिसिएका यस्ता खानाले शरीरमा बोसो, सुगर र रगतमा ट्राइग्लिसराइड्सको मात्रा बढाउने जोखिम हुन्छ ।

एकै पटकको चिल्लो भोजनले पनि पार्न सक्छ असर

घिउमा तारेको खाना लगातार वा धेरै खाँदा शरीरमा ‘ट्रान्स फ्याट’ बढ्छ । यसले कलेजो, मुटु र रक्त नलीहरूमा गम्भीर असर पार्न सक्छ । पुरानो तेल प्रयोग गर्दा एक्रोलिन, एल्डिहाइड जस्ता रासायनिक विष उत्पन्न हुन्छन्, जसले दीर्घकालीन रूपमा क्यान्सरजस्ता रोग निम्त्याउन सक्छन् ।

पाचन र इन्सुलिनमा असर

धेरै तेलयुक्त परिकारले पाचन ढिलो हुन्छ, ग्यास र अपच हुने सम्भावना बढ्छ । चिनी र बोसो मिसिएका मिठाईले इन्सुलिन प्रतिरोध बढाउँछ, जुन मधुमेह र नन–अल्कोहोलिक फ्याटी लिभर डिजिजको कारण बन्न सक्छ ।

‘सुगर फ्रि’ मिठाई कतिको स्वास्थ्यकर ?

सुगर फ्रि भनिए पनि बजारमा पाइने मिठाईमा प्रायः घिउ, ट्रान्स फ्याट र कृत्रिम मिठास प्रयोग गरिएको हुन्छ । यस्ता मिठास ९जस्तैः सोरबिटोल, एरिथ्रिटोल० धेरै खाँदा पेट फुल्ने, ग्यास र डायरिया हुने सम्भावना हुन्छ । त्यसैले ‘सुगर फ्रि’ पनि सीमित मात्रामा मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।

कति खाने मिठाई ?

विशेषज्ञहरूका अनुसार स्वस्थ व्यक्तिले दिनमा १०–२० ग्राम मिठाई (जस्तैः १,२ साना लड्डु, पेडा वा बर्फी) खान सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक क्यालोरीको ५–१० प्रतिशत मात्र चिनीबाट आउनु उपयुक्त हुन्छ । महिलाले २५ ग्राम र पुरुषले ३६ ग्रामभन्दा बढी चिनी नखानु सुझाव दिइएको छ ।

रंगीन मिठाईबाट सावधान

घर वा बजारमा पाइने चम्किला रंगीन मिठाईहरू आकर्षक देखिए पनि त्यहाँ प्रयोग हुने कृत्रिम रङले एलर्जी, छालामा समस्या र बच्चाहरूमा ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या निम्त्याउन सक्छ । सकेसम्म प्राकृतिक रङ वा बिना रङको मिठाई रोज्न सल्लाह दिइन्छ ।

स्वास्थ्यका लागि के गर्ने ?

–मिठाई सीमित मात्रामा खाने
–पुरानो तेल प्रयोग नगर्ने
–घरमै ओट्स, नट्स, खजुर वा स्टेभिया प्रयोग गरेर मिठाई बनाउने
–चिल्लो परिकारपछि तातोपानी वा जिरा पानी पिउने
–ट्रान्सफ्याट फ्री, स्टेभिया युक्त परिकार छनोट गर्ने
– डाइटिसियन विपिन कार्कीका अनुसार, तिहारको मिठास जीवनमा सन्तुलनसहित आउनु पर्छ । पर्वको स्वादसँगै शरीरको सन्तुलन कायम राख्न सचेत भइयो भने तिहार अझै सुखद, स्वस्थ र स्मरणीय बन्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *