हम्पाल लेकमा बढ्यो पर्यटकको आगमन


कास्की । पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।
वर्षायाम सकिए लगत्तै दैनिकजसो दर्जनौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् । जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुने बित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो ।
गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१, माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित उक्त आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनले जानकारी दिए । उनका अनुसार यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल थप गरिएको छ ।
समुद्री सतहबाट ३ हजार ३०० मिटर उचाइमा रहेको माटेबाट २ हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमशृंखलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । मृगलगायत जंगली जनावर पनि देख्न सकिन्छ ।
यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या भएर पर्यटकको संख्या कम भए पनि अहिले सबैतिरबाट पूर्वाधार सम्पन्न भएपछि पर्यटकको संख्या बढ्दै जान थालेको समितिका सचिव पुनले जानकारी दिए । अहिले यहाँ पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, काठमाडौँ, चितवनका जो पदयात्रा गर्न रुचाउँछन् । त्यस्ता पर्यटक बढी मात्रामा आउने गरेकोे जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।
पछिल्लो समय विभिन्न म्युजिक भिडियो र फिल्म छायाङ्कनका लागि कलाकार तथा सर्जकहरूको उल्लेख्य मात्रामा उपस्थित हुने गरेका छन् । केही दिनअघि पदयात्रा गर्दै हम्पाल लेक पुगेका वरिष्ठ मुटुरोग विशेषज्ञले यो क्षेत्र नेपालकै सुन्दर र रमणीय रहेको बताउँदै यसलाई पर्याप्त प्रचारप्रसार गर्नसके भविष्यमा लाखौँ पर्यटक भित्र्याउन सकिने प्रतिक्रिया दिए ।
यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुलदेखि घान्द्रुक र तिखेढुङ्गासम्म सडक विस्तार भएपछि बाह्य पर्यटकहरू यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यवसायी मनबहादुर भण्डारीले बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने भण्डारीको भनाइ छ । यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो ।
हिन्दु धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्तस्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडको बीचमा रहेको सीमक्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ । पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पनि पुगेको छ ।
जलजलामा होटल व्यवसाय गर्दै आएका टीका पुनले दैनिकजसो बुकिङ गर्ने क्रम पर्यटकको संख्या बढेको बताए । चाडबाड सकिएपछि अझै पर्यटकको संख्या बढ्ने उनको अनुमान छ । पर्वतको भूकदेउरालीबाट कास्कीको घान्द्रुकसम्म नयाँ पुलबाट ‘ट्रेकिङ’ सुरु हुन्छ । सोही नयाँ पुल, पर्वतको डिमुवा, बनौँ, तारे, कास्कीका अन्य स्थान तथा म्याग्दीबाट पनि जान सकिने लामो दूरीको आकर्षक ‘ट्रेकिङ रुट’ हो पर्वतको हम्पाल क्षेत्र । समुद्र सतहबाट करिब तीन हजार मिटरको उचाइमा रहेको हम्पाल र माटे लेकको क्षेत्र पदयात्रामा जाने तथा उच्च भागसम्म सवारीमै पुगेर पनि प्राकृतिक सुन्दरताको अनुभूति लिन सकिने प्रख्यात क्षेत्र हो हम्पाल ।
लेकाली क्षेत्रमा मगर बस्ती हुँदै जान सकिने यो क्षेत्रमा पुग्नका लागि आकर्षक मानिएको एउटा ‘रुट’ कुश्मा नगरपालिका–१ पाङबाट जलजला गाउँपालिकाको बनौँ हुँदै मोदी गाउँपालिकाको क्याङमा जोडिएर जाने पदमार्ग हो । बनौँबाट केही मिनेटको दूरीमा रहेको क्याङको ठूली देउरालीमा पुगेर सवारी राखेपछि करिब तीन घण्टाको पैदलयात्राबाट हम्पाल क्षेत्रमा पुग्न सकिन्छ । केही विदेशी पर्यटक समेत पदयात्रा गरिरहेको देखिने सिर्फु र आसपासका क्षेत्रबाट पनि ढुंगाले बनाइएको सहज पदमार्ग हुँदै उक्त गन्तव्यमा पुग्न सकिन्छ ।