`

सिफारिस चारमध्ये दुई मन्त्रीको मात्रै शपथ हुने

Nepal One HD ९ कार्तिक २०८२ १४:२८
प्रमुख खबर

काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये दुई जनाको मात्रै आज (आइतबार) शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको स्रोतले जानकारी दिएको छ । बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको हो । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो । ‘बिहान नाम समावेश भएर आएको थियो । अहिले प्रधानमन्त्रीका स्वकीय सचिव आएर प्रधानमन्त्रीले शपथ नगराउने जानकारी गराउनु भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो । यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चार माध्यमहरूमा समाचार आएका थिए । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो । सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरी दिएका थिए । राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । तर, सिफारिस भएका मन्त्रीको नाममा विवाद भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *