गगन–विश्वप्रकाशलाई प्रकाशशरणको प्रश्न : उपनिर्वाचन देखेकै हो, कुन नयाँ अनुहार चाहियो ?
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वाय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै मंसिरमा विशेष महाधिवेशन भन्ने रटान छाड्न आग्रह गरेका छन् । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै विशेष महाधिवेशनलाई कुनै अचुक औषधि जस्तो नगर्न आग्रह गरे । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् ।
त्यसबारे उनले भने, ‘अहिले पार्टीमा विशेष महाधिवेशन मंसिरमा भन्ने बहस चलिरहेको छ । त्यो नै अचुक औषधि जस्तो छ । यत्रो राष्ट्रिय संकट छ, हामीमाथि उत्रो प्रहार भएको छ । राष्ट्रलाई नै कमजोर गर्ने प्रयास भइरहेको छ । म नेतृत्वमा पुग्छु भन्नेहरूले पार्टीलाई संकटको घडीमा एकताबद्ध गर्न जरुरी छ । हामीबाट कमी–कमजोरी भएका छन्, त्यसको गम्भीर छलफल र समीक्षा गरौँला ।’
मंसिरमा विशेष कि नियमित भन्ने बहस छाडेर विधि र प्रक्रिया अनुसार नै क्रियाशील सदस्यताको विषय टुङ्ग्याउनुपर्ने बताए । उनले भने, ‘विधानले सुविधा दिएको छ भनेर तन्काउने कुरा छैन । भोलिदेखि नै केन्द्रीय समिति बैठक बस्दै छ । विधि, प्रक्रिया, निष्पक्षता, पारदर्शिता र सुनिश्चित हुने गरी मिति तोकौँ न । यथार्थ समय कति लाग्छ । मेरो विचारमा वैशाख, जेठसम्म गर्न सकिन्छ ।’
राजनीतिमा सबै खत्तम र बदमास हुन भन्ने नकारात्मक भाष्य जबरजस्त ढङ्गबाट सामाजिक सञ्जालबाट सम्प्रेषित भइरहेको बताए । अहिले देश संकटमा रहेको बेलामा पार्टीभित्र एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले यसअघि भएको उपनिर्वाचनमा दुई महामन्त्रीहरूको नेतृत्वमा गए पनि कांग्रेसका उम्मेदवार पराजित भएको विषय उठाएका छन् ।
‘पार्टीमा नयाँ अनुहार चाहियो ? कुन अनुहार चाहिने ? कुन चाहियो ?,’ उनले दुई महामन्त्रीलाई लक्षित गर्दै भने, ‘उपनिर्वाचनमा देखेकै हो । यो समय त मिलेर गर्ने होला नि । पार्टीलाई बनाउने र निर्वाचनमा भिड्ने तयारी गर्नुपर्ने होला नि । निर्वाचनमा कसरी जाने भनेर यो केन्द्रीय समिति बैठकले टुंगो लगाउनु प र्यो ।’ महतले महामन्त्री थापाले जारी केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको तालिका ल्याउनुपर्छ भनिरहँदा अहिले किन चाहियो ? भन्दै प्रश्न गरेका छन् । ‘तालिका अहिल्यै ल्याऔं भन्नेछ । अहिले नै तालिका किन चाहियो मैले बुझेको छैन,’ उनले भने, ’मेरो त के जान्छ । तर म पार्टीको चिन्ता गर्ने मान्छे हो । धेरैले मलाई बुझ्दैनन् ।’
