दुई महामन्त्रीसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समितिको बैठकअघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई महामन्त्रीसँग छलफल गर्न लागेका हुन् । पार्टीको संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नहुने र दुई महामन्त्री चुनावअघि नियमित हुन नसके विशेष गर्नुपर्ने अडानमा छन् ।
दुई पक्ष आ–आफ्नो अडानमा कायमै रहेको वेला सहमति खोज्न कार्यवाहक सभापति खड्काले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । महामन्त्री थापाले सहमति जुट्न नसक्दा महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सकेका छैनन् । महामन्त्री थापाले २७ देखि २९ मंसिरभित्र महाधिवेशन गर्न सकिने गरी कार्यतालिकाका दुई प्रस्ताव सार्वजनिक गरेका छन् ।
२९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । नियमित महाधिवेशन हुन नसके विशेषका लागि उनीहरूले माग गरेका छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन चुनावअघि हुन नसक्ने अडानमा छ । २८ असोजबाट सुरु भई कात्तिक १ गतेबाट रोकिएको केन्द्रीय समितिको बैठक बिहीबारदेखि पुनः सुरु हुन लागेको छ ।
