‘भड्किएका’ गगनसहितका नेतासँग शेखरको छलफल, के विषयमा भयो कुराकानी ?
 Nepal One HD									१४ कार्तिक  २०८२ ११:२९
Nepal One HD									१४ कार्तिक  २०८२ ११:२९
								 
 					काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापन इतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए । नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार बद्रीप्रसाद पाण्डेबीच छलफल भएको नेता कोइरालाको सचिवालयले जानकारी दिएको छ ।
पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा उनीहरूबीच छलफल भएको हो । सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नसकिने बताइरहेका छन् । कांग्रेस नेता कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति तयार नभएपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन पहल थालेका हुन् ।
कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अस्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए । उनले विहीवारको बैठक अघोषित बहिष्कार गरे । महामन्त्री थापा बिहीबारको केन्द्रीय समितिमा अनुपस्थित रहेका थिए । कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशनको माग भइरहेको छ । साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर समेत बुझाएका थिए ।

 
   
   
   
   
   
   
   
   
   
   
   
   
 							 
 							