`

राष्ट्र अझ संकटतिर धकेलिँदैछ : राप्रपा नेतृ ओली

Nepal One HD १६ कार्तिक २०८२ ७:२८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि ‘देखिने र नदेखिने दबाबमा परेर देशलाई अन्योलमा पुर्‍याएको’ आरोप लगाएकी छन् । उनले सरकारलाई राष्ट्रिय एकता र मेलमिलापको बाटोमा फर्किन आग्रह गरेकी छन् ।

ओलीका अनुसार, जेनजी आन्दोलन भएको झण्डै दुई महिना बित्दा पनि सरकारले संवाद र सहमतिको दिशा लिन सकेको छैन । ‘सरकारले सबै पक्षसँग गम्भीर वार्ता गर्न सकेको छैन, फलस्वरूप देश पुनः आन्दोलन र अस्थिरतामा फस्ने संकेत देखिएको छ’, उनले भनिन् ।

उनका अनुसार प्रधानमन्त्री कार्कीले पनि आफू विभिन्न समूहको दबाबमा परिरहेको कुरा सार्वजनिक रूपमा स्वीकार गरिसकेकाले त्यो पदको गरिमा विपरीत भएको छ । ‘दबाबमा चल्ने प्रधानमन्त्रीबाट देशले के अपेक्षा गर्न सक्छ ?’ उनले प्रश्न गरिन् ।

सामाजिक सञ्जाल टिकटिकमार्फत एक भिडियो सन्देश जारी गर्दै ओलीले वर्तमान संविधान र त्यसकै जगमा हुने आगामी निर्वाचनले समस्या समाधान नगर्ने दाबी गरिन् । ‘वृहत संवाद र नयाँ सहमति बाहेक देशको समस्या समाधान सम्भव छैन’, उनले भनिन् ।

जेनजी आन्दोलनलाई उनले ‘भ्रष्टाचार अन्त्य र प्रणालीगत सुधारको आवाज’ बताउँदै त्यसको सार गुमिरहेको उल्लेख गरिन् । ‘सरकारले जेनजी युवा र दलबीच द्वन्द्व बढाउने काम गरेको छ, जसले आन्दोलनको वास्तविक उद्देश्यलाई कमजोर बनाएको छ’, उनले आरोप लगाइन् ।

अर्थतन्त्र र सुशासनका विषयमा ओलीले सरकारको निष्क्रियता प्रति चिन्ता व्यक्त गरिन् । ‘व्यापारी त्रसित छन्, लगानीकर्ता पलायन भइरहेका छन्, तर सरकारले कुनै ठोस कदम चालेको छैन’, उनले भनिन् । राजदूत फिर्ता बोलाउने र साना खर्च कटौती जस्ता ‘पपुलिष्ट निर्णय’ ले सुशासन स्थापित नहुने उनको टिप्पणी छ ।

‘राजदूत फिर्ता बोलाएर नयाँ नपठाउने दोहोरो मापदण्डले अन्तर्राष्ट्रिय छवि पनि धमिलिएको छ’, उनले भनिन् । ओलीले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेकी छन्, ‘अझै समय छ-राष्ट्रिय एकताको नीति लिनुहोस् र सबैलाई साथ लिएर अघि बढ्नुहोस् । दबाबबाट मुक्त भएर स्वतन्त्र निर्णय लिनुहोस्, नत्र भावी पुस्ताले अझ दुःख पाउनेछ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *