गगनले गरे पुस १६–१९ सम्म नियमित महाधिवेशनको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । सानेपामा जारी बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका हुन् । उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका छन् ।
महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले बोल्दै छन् । उनले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्नेछन् । बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।
सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।
