`

गगन थापाको महाधिवेशन प्रस्तावविरुद्ध संस्थापन पक्षको ‘काउन्टर’ तालिका

Nepal One HD १८ कार्तिक २०८२ १७:३७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मितिको विवाद आधिकारिक रूपमै केन्द्रीय समितिमा प्रवेश भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पुसमा महाधिवेशन गर्ने प्रस्ताव राखेपछि ‘काउन्टर’ मा संस्थापन पक्षका सह–महामन्त्री महेन्द्र यादवले वैशाखको महाधिवेशन तालिका प्रस्ताव राखेका छन् ।

महामन्त्री थापाले पुसको १६ गते देखि १९ गतेसम्मको महाधिवेशन प्रस्ताव राखेका थिए । जुन यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि प्रस्ताव गरिरहेको मिति हो । महामन्त्री थापाले उक्त प्रस्ताव राखे लगत्तै सहमहामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याएका छन् ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै त्यसअघि महाधिवेशन गर्न नसकिने अडान राखेको छ । महामन्त्री थापाले प्रस्ताव गरेको पुसको मितिको समयमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय पर्ने देखिन्छ । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, १० देखि २० गते सम्म क्रियाशील छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव राखे । यस्तै, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । तर, संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगरी यही कार्यसमितिको कार्यकाल थप्ने पक्षमा छ ।

यो कार्यसमितिको कार्यकाल मंसिरबाट सकिँदै छ। संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादव मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने गरी प्रस्ताव राखे । त्यसपछि चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने उनको प्रस्ताव छ । अहिले दुई कार्यतालिका आएपछि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अडान छ। उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *