सिटौलाले गगनलाई भने–फेसबुकबाट सभापति छान्ने हो ? पार्टी कब्जा गर्न नखोज्नुस्
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीच सवालजवाफ चलेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता सिटौलाले महामन्त्री थापाका गतिविधिबारे प्रश्न उठाएका हुन् । उनले थापा सामाजिक सञ्जालमा सेलिब्रेटी बन्नका लागि पार्टीको महामन्त्री हुँ भन्ने कुरा नै बिर्सेको टिप्पणी गरे ।
उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गरेको भन्दै महामन्त्री थापाको आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गर्ने भए सचिवालय बन्द गर्ने की नगर्ने भन्दै प्रश्न गरेका थिए । उनले महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले फेसबुकबाट सभापति छान्ने हो ? भन्दै गगनलाई प्रश्न समेत गरेका थिए । नेता सिटौलाले महामन्त्री थापालाई आफ्नो चरित्र सुधार्न र बोल्न मन लागेको कुरा बैठकमा बोल्न आग्रह समेत गरेका छन् । उनले बैठकमा नबोल्ने तर सामाजिक सञ्जालमा लेख्न लगाउने गरेको आरोप समेत लगाए । उनले थापालाई आफू पार्टीको महामन्त्री हुँ भन्ने कुरा थाहा पाइराख्न सुझाव पनि दिए ।
‘महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैन’
कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । उनले २२ भदौ अघि र हालको नेपाल एउटै नभएको बताएका छन् । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाले गरे । राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यस पटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नु परेको बताए ।
महामन्त्री थापाले आन्दोलन कांग्रेस रहेको सरकारका विरुद्ध भएको बताए । ‘हामी एकै पटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’ मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर नबसिरहेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ । थापाले पार्टी नेताहरूप्रति प्रश्न गर्दै भने, ‘जनता हामीलाई भोट दिऔं भनेर आतुर भएर बसेका छन् ? पार्टीका कमिटीहरू कुरेर बसेका छन् ?’
जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उनले बताए । सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको उनले बताए । देशका लागि थप तीन विकल्प रहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘थप हिंसामा देश जाने, जे छ त्यस्तै रहने, अहिले मुखरित भएको जनभावनालाई समेटेर त्यसको नेतृत्व गर्ने सम्भावनाहरू रहेको छ ।’ आफूले नेतृत्व नगरेको कतिपय आन्दोलनको संस्थागत गर्ने नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गरे । थापाले थपे, ‘यो अनिश्चततालाई सम्हाल्छ कसले ? यो अवस्थामा कांग्रेसले म छु । हामी छौं, हामीले सम्हाल्छौं भन्नु पर्ने पनि होइन ?’
