कांग्रेस नेता फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाउँ
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पूरै देशले गगन थापालाई खोजेको भन्दै आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान प्रस्ताव गरेका छन् । आज (बुधबार) केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्सुरले देशैभरबाट थापाको खोजी भएको भन्दै पार्टीले चुनाव जित्न पनि थापालाई प्रधानमन्त्रीको घोषणा गरेर जानुपर्ने बताएका हुन् ।
‘देशैभरका जनताबाट हाम्रो महामन्त्री गगन थापालाई भाबी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको छु । उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनु भएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्ष पनि उहाँकै कारण जुटेको हो,’ मन्सुरले भने, ‘यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाउँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौं ।’
पार्टीका दुईटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उनले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने उनले बताए । ‘हामीले वर्षौंसम्म सत्तामा बसेर गरेको काम जनताले नरुचाएपछि पछिल्लो आन्दोलन भएको हो । यसैले अहिलेकै नेतृत्त्व लिएर चुनावमा जान सकिँदैन, जानु पनि हुन्न,’ मन्सुरले भने, ‘एउटा पक्षले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेको छ । यो महाधिवेशन गर्न ल्याइएको प्रस्ताव होइन । अर्को महामन्त्रीको प्रस्ताव छ । यसैले यतिखेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्त्व चयन गर्नुपर्छ । अनि मात्रै चुनावमा जानुपर्छ ।’
