`

सीके राउत भन्छन्, ‘मौका यही हो, मधेशलाई स्वायत्त घोषणा गरौं

Nepal One HD २४ कार्तिक २०८२ १२:३०
प्रमुख खबर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सीके) राउतले मधेश प्रदेशसभाको बैठकबाट मधेशलाई स्वायत्त घोषणा गर्ने गैरसंवैधानिक माग अघि सारेका छन् । एमालेका सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट राउतले सामाजिक सञ्जालमार्फत मधेशलाई ‘स्वायत्त घोषणा’ को माग अघि सारेका हुन् । उनले मधेशको आफ्नै प्रहरी, प्रशासन र सरकार गठनको माग समेत गरेका छन् ।

‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ,’ राउतले लेखेका छन्, ‘अब डराएर सदियौंसम्म नेपाली शासकको गुलामी गर्नु हुँदैन, सडकमै बैठक गरेर भए पनि मधेशलाई स्वायत्त घोषणा गरौं । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने यही सही मौका हो ।’ राउतको यो वक्तव्यले फेरि पनि विगतको ‘स्वतन्त्र मधेश अभियान’ को छायाँ फर्किएको संकेत दिएको छ । उनले एक पटक यही आन्दोलनका अगुवा भएर मधेशलाई छुट्टै राज्य बनाउन नारा दिएका थिए । पछि त्यो अभियान परित्याग गर्दै उनी मुलधारको राजनीतिमा प्रवेश गरेका थिए । तर पछिल्ला अभिव्यक्तिहरूले उनी अझै विभाजनकारी सोचबाट पूर्णरूपमा अलग हुन सकेका छैनन् भन्ने संकेत गर्छन् ।

उनका अनुसार, मधेश प्रदेशसभाको दुई तिहाइ सांसदको समर्थनमा ‘स्वायत्त घोषणा’ गर्न मिल्छ । उनले तर्क गरेका छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको मागबमोजिम बनेको सरकार हो । त्यसैले मधेशी जनताको चाहनाअनुसार प्रदेशसभाको दुई तिहाइ समर्थनमा स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।’

राउतले सिंहदरबारमाथि तीव्र आक्रोश प्रकट गर्दै भनेका छन्, ‘५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन । सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, प्रहरी र सचिवले मधेशमाथि दमन गरिरहेकाले पूर्ण स्वायत्तताको आन्दोलनको घोषणा आवश्यक छ ।’ यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका नाममा काठमाडौं हिँडेर बर्दिबासस्थित होटलमा पुगेर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सो निर्णयले मधेशको राजनीतिक वातावरण तातिएको छ । यही प्रसङ्गलाई जोड्दै राउतले ‘संविधानलाई धज्जी उडाउनेहरूविरुद्ध सडकमा स्वायत्तताको घोषणा’ गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक विश्लेषकहरूले राउतको यो अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टिको आवरणमा पुनः बिखण्डनको आगो सल्काउने प्रयासको रूपमा लिएका छन् । उनीहरूको भनाइमा, प्रदेशको असन्तुलन र केन्द्रप्रतिको असन्तुष्टिलाई उनले ‘औपनिवेशिक शासन’ जस्ता शब्द प्रयोग गरी भावनात्मक रूपमा भड्काउने रणनीति अपनाइरहेका छन् । राउतका ताजा भनाइले मधेशको राजनीति फेरि एक पटक तताएको छ । एकातिर एमालेले सरकार बनाएको सन्दर्भमा सत्ताको समीकरण बलियो देखिँदैछ भने अर्कोतिर सीके राउतले ‘स्वायत्तताको आन्दोलन’ को हुंकार दिएर मधेशको राजनीतिक स्थायित्वमा नयाँ तरंग ल्याएका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *