`

पार्टी दर्ता गर्ने बेला सुमनाले छाडिन् कुलमानको साथ

Nepal One HD २४ कार्तिक २०८२ १५:१६
अर्थ समाचार

काठमाडौं । लामो समयको तयारीपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ नयाँ राजनीतिक पार्टी गठनका लागि अघि बढेका छन् । उनले ‘उज्यालो नेपाल पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गर्नको लागि प्रक्रिया सुरु गरेका छन् । तर पार्टीको नाम र संरचनाबारे केही मत भिन्नता देखिएको छ ।

पार्टीको संयोजकको रूपमा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने निश्चित भएको छ । कुलमान भने हाल सरकारमा मन्त्री रहँदा पार्टीमा सक्रिय भूमिका लिने छैनन् । उपाध्याय नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरी पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । उज्यालो नेपाल अभियानको संयोजक रहेका कुलमानले नयाँ पार्टीमार्फत अभियानलाई राजनीतिक रूप दिने तयारी गरेका हुन् । अभियानमा संलग्न जितराम लामाले पनि निर्वाचन आयोगमा दर्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पार्टीको नामको विषयमा मतभिन्नता देखिएको छ । निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ जस्ता नाम सुझाएकी थिइन् । उनको विचारमा ‘उज्यालो नेपाल’ नामले व्यक्ति केन्द्रित पार्टीको छवि दिन सक्छ र सामूहिक नेतृत्वको भावना कमजोर हुन सक्छ । सुमनाले सामाजिक सञ्जालमार्फत आफ्नो दृष्टिकोण व्यक्त गर्दै लेखेकी छन्, ‘सबै समूह, वर्ग, क्षेत्र र सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै, पार्टीलाई एक नेता भन्दा परिषद् र सामूहिक नेतृत्वको अवधारणामा लैजान सकिन्छ कि ? कुनै एक नायकको अनुहार अगाडि राख्नुभन्दा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्छ ।’

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सँगै सहकार्य गरेर अघि बढ्ने चाहनाहरू हुँदाहुँदै पनि अहिलेलाई सहकार्य हुने अवस्था नभएको बताएकी छन् । उनले कुलमान घिसिङलाई नयाँ पार्टी स्थापना र सञ्चालनका लागि शुभकामना दिएकी छन् । ‘अलायन्स गरेर जानुपर्छ भन्ने नै मत यथावत नै छ । कुलमान सरलाई हृदयदेखि नै शुभकामना उहाँ क्यापेबल मान्छे हुनुहुन्छ,’ उनले भनिन्, ‘भविष्यमा सहकार्यको बाटो खुला नै हुन्छ ।’ श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी हुन् । उनी घिसिङलाई रास्वपामा लगेर सभापति बनाउन चाहन्थिन् । त्यसका लागि उनले कोशिसि पनि गरेकी थिइन् । तर, रवि लामिछानेले सभापति पद छोड्न अस्वीकार गरेपछि श्रेष्ठ घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जान तयारीमा थिइन् ।

श्रेष्ठले नयाँ दल नेतृत्व घिसिङले नै गर्नुपर्ने पक्षमा आफू रहेको बताइन् । ‘उहाँलाई अध्यक्ष मानेर जाने नै हो भन्ने कुरा थियो । तर यस्तै हो,’ उनले भनिन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत हुनुपर्छ भन्ने आफ्नो अडान कायमै रहेको पनि बताइन् । नेपालमा हरेक १० वर्षमा विद्रोह हुन्छ भन्ने भनाइ चिर्न पनि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

तर कुलमानले सुरुदेखि नै ‘उज्यालो नेपाल’ नाममा जोड दिएका थिए । उनका अनुसार, लोडसेडिङ हटाउने काम र उज्यालो नेपाल ब्राण्ड भएकाले उक्त नाम नै उपयुक्त छ । नामको अन्तिम निर्णयको लागि आइतबार छलफल पनि भएको थियो । छलफलमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी (संरक्षक) र रञ्जिता श्रेष्ठ (अध्यक्ष) लगायत केही नेताहरू पनि सहभागी भएका थिए । स्रोतका अनुसार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकटले पनि ‘उज्यालो नेपाल’ नाम उपयुक्त हुने बताएका थिए । यसै सहमतिका आधारमा पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने निर्णय भएको हो । पार्टीको चुनाव चिह्न बिजुलीको चिम रहने तयारी छ । ५१ सदस्यीय समिति र संयोजक उपाध्यायको नेतृत्वमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *