अख्तियारका ‘नक्कली उपसचिव’ कीर्ते कागजातसहित पक्राउ
काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
डोटी घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महराले तारकेश्वर क्षेत्रमा आफू अख्तियारको उच्च पदस्थ कर्मचारी भएको र कीर्ते कागजपत्र देखाएर स्थानीयलाई धम्क्याउने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई तारकेश्वर नगरपालिका–९, टुसाल चोकबाट विभिन्न सरकारी निकायका नक्कली लेटरप्याड र कागजातसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेटरप्याड, राष्ट्रिय वाणिज्य बैंकको डेपुटी म्यानेजर पदको परिचयपत्र, विभिन्न बैंकका स्टेटमेन्ट, एटीएम कार्ड, चेकबुक र हिसाबकिताब राखिएको डायरी बरामद गरेको छ । पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
