जेनजी आन्दोलनका दाग : आगजनीमा संलग्न धमाधम पक्राउ पर्दै, गण्डकीमा पाँच अर्बको क्षति
पोखरा । गण्डकी प्रदेशभर फैलिएको जेनजी आन्दोलनको घाउ अझै पुरिएको छैन । आन्दोलनको उग्र रूपले सरकारी तथा निजी सम्पत्तिमा अरबौँको क्षति पुर्याएको मात्र होइन, निर्दोष नागरिकको ज्यान पनि लियो । सोही क्रममा कास्कीमा भएको लुटपाट, आगजनी र तोडफोड घटनामा संलग्न थप पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा पोखरा र आसपासका क्षेत्रमा सरकारी कार्यालय, पसल, निजी घर र सवारीसाधनमा तोडफोड र आगजनी गरिएको थियो । ती घटनामा संलग्नहरूको पहिचानपछि प्रहरीले हालै पाँच अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पोखरा–१० बुद्धचोकका चन्द्रबहादुर थापा (५०), सोही स्थानका हरिबहादुर थापा उर्फ ‘खलि’ (४८), माछापुच्छ्रे–३ का सन्तोष परियार (२५), पोखरा–२६ बुढिबजारका रमेश थापा (४०), र पोखरा–९ का अभिमन्यु पाण्डे (३५) रहेका छन् । प्रहरीका अनुसार, यी व्यक्तिहरूले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा आगो लगाउने, प्रहरी कार्यालयमा तोडफोड गर्ने र हतियार समेत नष्ट गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूविरुद्ध ‘आपराधिक उपद्रव गर्न नहुने’ कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
कास्की प्रहरीले हालै एक भिडियो सार्वजनिक गर्दै भदौ २३-२४ गतेको जेनजी आन्दोलनका क्रममा कास्कीका एक व्यवसायीको पसलमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने अपराधसम्बन्धी अनुसन्धान तीब्र पारिएको पनि जनाएको छ । प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, उक्त भिडिओमा देखिएका व्यक्तिहरू अपराधमा संलग्न रहेको देखिएको र तिनमध्ये केही व्यक्तिहरू अनुसन्धानकै क्रममा पक्राउ परिसकेको जानकारी दिइएको छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कास्की प्रहरीले आमसाधारणसँग सहयोगको अपिल समेत गरेको छ ।
प्रहरीको अपिल अनुसार यदि कुनै पनि नागरिकले सार्वजनिक गरिएको भिडिओ हेरेर भिडिओमा देखिएका व्यक्तिहरूलाई चिन्ने वा पहिचान गर्न सक्ने भए : भिडिओको सम्बन्धित भागको स्क्रिनसर्ट गरी घेरा लगाउने, पहिचान भएको व्यक्तिको नामथर, ठेगाना, सम्पर्क नम्बर, फेसबुक-टिकटक आईडी, पेशा र सम्भावित बसोबास स्थान (खुल्नसक्ने सीमाभित्र) जस्ता जानकारी संग्रह गरी सम्बन्धित इमेल ठेगाना वा फोन नम्बरमा पठाएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ । प्रहरीले उजुरीदाताको नाम र तपशील गोप्य राखिने र उपलब्ध गराएको सूचनालाई गोप्यताकै साथ अनुसन्धानमा प्रयोग गरिने पनि स्पष्ट गर्दै आएको छ । उक्त अपिल विज्ञप्तिमा भिडियोका आधारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित थप घटनाबारे जानकारी दिने जो कुनै पनि
नागरिकलाई जानकारी भए तुरुन्तै प्रहरी समक्ष उपलब्ध गराउन आग्रह गरिएको छ । प्रहरीले थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । प्रहरीले इमेल आइडी [email protected] र वाट्सएप नम्बर–९८५६०७८३३ मा कल गरेर पनि आफूलाई भएको जानकारी प्रहरीलाई दिन सकिने जनाएको छ ।
पाँच अर्ब बराबरको क्षति, तीन जनाको ज्यान
गण्डकी प्रदेश सरकारले हालसम्मको क्षतिको प्रारम्भिक मूल्याङ्कन सार्वजनिक गरेको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेका अनुसार, जेनजी आन्दोलनले प्रदेशका सात जिल्लामा पाँच अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । जसमा २ अर्ब सरकारी तथा ३ अर्ब निजी क्षेत्रतर्फको क्षति समावेश छ । मुख्यमन्त्री पाण्डेले भने, ‘१३८ सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति पुगेको छ । ३६१ दुईपांग्रे सवारी जलाइएका छन्, ७ वटा तोडफोड र ३ हराएका छन् । यस्तै, १६१ चारपांग्रे सवारी जलाइए, ३१ मा क्षति पुगेको छ ।’ आन्दोलनकै क्रममा ३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
भरतपुर–पोखरा १६ निवासी विजय तामाङ, काठमाडौं–३ घर भई पोखरा बस्ने कान्छी नगरकोटी, र दोलखा घर भएकी स्वस्थानी थापा ज्यान गुमाउनेहरू हुन् । नगरकोटी मुख्यमन्त्रीका निकटस्थ सभासद् विन्दुकुमार थापाका दाजु अटो व्यवसायी ध्रुव थापाको घरमा लागेको आगोमा परेर जलेकी थिइन् । त्यस्तै, तामाङ कास्की प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा ज्यान गुमाएका थिए ।
पुनर्निर्माण तीन चरणमा
मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको मूल्याङ्कन र स्टिमेट कार्य पूरा भएको जनाउँदै भने, ‘यस्ता घटना हुने कल्पना पनि नभएकाले बजेटको अभाव छ, तर तत्काल सेवा आवश्यक कार्यालयहरूलाई सहयोग सुरु गरेका छौं ।’ उनका अनुसार, पुनर्निर्माण तीन चरणमा गरिनेछ–सामान्य क्षति भएकालाई मर्मत गरेर सञ्चालनमा ल्याउने, मध्यम क्षतिग्रस्त संरचनालाई रेट्रोफिट गर्ने, र पूर्णरूपमा नष्ट भएकालाई नयाँ निर्माण गर्ने । यसका लागि एक अर्ब ५० करोड रुपैयाँ चालु खर्चबाट कटौती गरी पुनर्निर्माणमा लगाइने भएको छ ।
