५० काे दरका ४२ करोड थान नोट छाप्न चीनसँग सम्झौता
काठमाडौं । ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो। ५० दरको ४२ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति २०८२-०४-०९ बोलपत्र आह्वान गरिएको थियो। उक्त सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) रहेको राष्ट्र बैंकले जनाएको छ।
यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्युनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो । बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ।
