`

गभर्नर पौडेलको आशंका : कर्जा प्रवाह नबढ्नुको कारण कालोसूची

Nepal One HD २८ कार्तिक २०८२ १४:३२
अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाएका छन् । शुक्रवार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झण्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु स्वभाविक नभएको बताए । उनले कालोसूचीमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो की भनेर राष्ट्र बैंकले छलफल थालेको समेत बताए । गभर्नर अधिकारीले चेक बाउन्सलाई धेरै नै अपराधीकरण गर्न नहुने बताए ।

गभर्नर पौडेलले भने, ‘ब्लाक लिस्टको ठूलो इस्यु भएको छ । अहिले डेढ लाख मान्छेहरु कालोसूचीमा पर्न थाले । चेक बाउन्सलाई नै हामीले अपराधीकरण गर्दियौं । चेक त मेरै कति वटा बाउन्स भएको थियो विद्यार्थीकालमा । कहिले काँही कति रुपैयाँ छ भनेर थाहै हुँदैन । चेक काटिन्छ । चेक बाउन्सलाई क्रिमिनलाइज गर्न कति जरुरत हो ? अरु देशमा के छ ? जरिवाना तिरेर हुने हो की ? हामी कति जनालाई क्रिमिनलाइज गर्ने हो ? यसमा छलफल हुन जरुरी छ । कुन लिमिटमा कसरी हेर्ने यसमा रिभ्यू हुनुपर्छ भनेर हामी छलफलमै छौं । यो देशमा १० लाख अन्टरप्रेनर होला डेढलाख मान्छेलाई कालोसूचीमा राखेपछि कर्जाको डिमान्ड नबढ्ने एउटा कारण हो की जस्तो देखिरहेको छ । यसमा हामीले केही महिना अघिदेखि नै हेरिरहेका छौं ।’

गभर्नर पौडेलले लोन लस प्रोभिजनको समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन् । उनले बैंकहरुलाई नै अप्ठ्यारो पार्ने खालको नीति भए त्यसलाई रिभ्यु गरिने प्रतिवद्धता जाहेर गरे । गभर्नर पौडेलले भने, ‘लोन लस प्रोभिजनको इस्यू अहिले आइरहेको छ । यसमा अहिले हामीले धेरै छलफल गरिरहेका छौं । बैंकहरुलाई धेरै कडा गरिरहेका छौँ । यता पनि च्यापेर उताबाट पनि च्यापेर हामीले अप्ठ्यारोमा बनाएका छौँ की भनेर एक पटक रिभ्यु गरौँ भन्नेमा छौं हामी । अरु देशहरुमा भन्दा एकदम कडा नीतिहरु ल्याउन प¥यो भने त्यसको पछाडि कारण पनि हेरौँ । यता पनि कडा उता पनि कडा गर्दा नहोला ।’

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गरे । उनले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार नयाँ उद्यमीहरु खोज्न अब चासो दिनुपर्छ। लगानी बिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनु पर्छ । देशको ग्रोथ नभई कसैको पनि उन्नति नहुने भन्दै पौडेलले इकोनोमी ग्रोथका लागि सबै लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय उदाइरहेको आईटी क्षेत्रमा लगानी गर्न समेत पौडेलले बैंकहरुलाई आग्रह गरे । गभर्नर पौडेलले अरु देशमा रहेका नीतिहरुलाई समेत हेरर नेपाललाई अनुकूल हुने पोलिसीहरु ल्याउन राष्ट्र बैंक तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *