जलेको घरबाट हितेन्द्रदेवको प्रश्न : चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
काठमाडौं । जेनजी आन्दोलनका क्रममा लगातार दुई दिनसम्म चलेको आगजनी र लुटपाटपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर खरानी भएको छ । जीवनभरको मेहनत, विदेशमा गरेको जोखिमपूर्ण काम, श्रीमतीसँगको संयुक्त श्रम र दशकौँमा जोडिएको कमाइ—सबै एकैपटक ध्वस्त भएपछि शाक्यले सोमबार साँझ आफूभित्रको चिरिएको मन फेसबुकमार्फत पोखेका छन् । भावुक हुँदै उनले लेखेका छन्, ‘चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?’

शाक्यले भनेका छन्, ‘आफूले नेपालको ऊर्जा क्षेत्रमा बिताएको लामो समय ‘युद्धभूमिमा काम गरेझैं ज्यान र प्रतिष्ठा दाउमा राखेर’ बितेको थियो, तर अहिले भने ‘देशले हार्दा दरबारले लान्छना लगाएको’ अमरसिंह थापाको कथा जस्तै पीडा महसुस भइरहेको छ । ‘सन्तानको दागबत्ती दिँदा आमालाई कस्तो पीडा होला–त्यस्तो अनुभूति अहिले मलाई भइरहेको छ’, शाक्यले लेखेका छन् । घरका ढोका–झ्यालदेखि प्लास्टरसम्म आफ्नो पसिना मिसिएको स्मरण गर्दै उनी भन्छन्, ‘अहिले मेरो हातमा कालो खरानी मात्र बाँकी छ ।’
शाक्यले आफूले बनाएको घर कुनै सहज आम्दानीले सम्भव नभएको बताउँछन् । अफगानिस्तानमा बम–गोलीको डरबीच मासिक ८–१० हजार डलर बचत गर्दै उनले करिब एक वर्षपछि घर बनाउने रकम जोडेका थिए । बाँकी रकम सञ्चय कोषका ऋण, चिलिमे कम्पनीका बोनस र थोरै थोरै गरेर जोडिएको सेवाको आम्दानीबाट जुटाइएको थियो । ‘इमानदार भएर जागिर खानेको घर सजिलै बन्दैन’, भन्दै श्रीमतीलाई ढाडस दिने श्रीमान–आज भने यही इमानदार कमाइले बनेको घरले आफैँलाई ‘नपुंसक’जस्तै ठट्टा गरेको अनुभूति भइरहेको उनी लेख्छन् ।

आगो र लुटपाटले शाक्यको भौतिक सम्पत्ति मात्र होइन, दशकौँको सम्झना पनि लगे । कलेज प्रमाणपत्र, छोराछोरीका सफलता–प्रमाण, विवाहको सारी, बुवाले दिएका कोट र घडी—सबै जलेर गएका छन् । उनले आफूले दीपावलीदेखि मनको अँध्यारो हटाउन लेख्दै आएका निजी डायरी, जीवनका अनुभव समेटिएका ५–६ हार्डडिस्क र फोटो एल्बम समेत जलेर नष्ट भएको बताए । ‘धन–सम्पत्ति लानु, तर यादहरू त छाडिदिनु नि—मुटु चसक्कै हो’, उनले मन बुझाए । इतिहासका काजी भीम मल्ललाई राज्यले बलिवेदीमा चढाउनु परेको प्रसङ्ग उल्लेख गर्दै शाक्यले आफू ‘बलिको बोका’ नबन्न चाहेको स्पष्ट पारे ।
थर मिलेकै आधारमा ‘सालो केटो’ को आरोप लगाइने व्यवस्थापकीय संस्कृतिप्रति उनले कडा आपत्ति जनाउँदै भनेका छन्, ‘कसैलाई सालो केटो नबनाउनू, कालो केटो पनि नबनाउनू । मेरो थर मिल्यो भन्दै बलि चढाइयो ।’ उनले आफू भीम मल्ल बन्नु नचाहेको, बरु बिशे नगर्ची जस्तो सच्चा, समर्पित नागरिक बन्ने चाहना रहेको उल्लेख गर्दै ‘देशमा कोही पृथ्वीनारायण भएर आउन’ आग्रह गरेका छन् । विद्युत् प्राधिकरणमा विभिन्न जिम्मेवारी सम्हाल्दा आफूले कुलेखानी, मस्र्याङ्दी, चिलिमेदेखि एलडीसी र योजनासम्ममा गरेको काम देशकै आत्मनिर्भरताको लागि भएको शाक्यको दाबी छ ।

उनले भनेका छन्, ‘मैले के बिराएँ ? यदि मैले अपराध गरेकै हुँ भने, राज्य, मलाई भन । तर यदि यो परिवर्तनका लागि मागिएको बलिदान हो भने, म शिर चढाउन तयार छु । तर अर्थहीन खरानी–यो स्वीकार्य छैन ।’ सबै नष्ट भएको भन्दै शाक्यले आफू पुनः उठ्ने दृढता व्यक्त गरेका छन् । तर उनले भनेका छन्, ‘सन्तानका प्रमाणपत्र, फोटो, डायरी र जीवनका स–साना यादहरू कहाँबाट फेला पारूँ ?’ आगजनी र लुटपाटले शारीरिक भने जस्तै मानसिक क्षति झनै गहिरो भएको बताउँदै उनले भनेका छन, ‘मुटु फेरि चरक्कै गर्छ ।’
