बडीमालिका क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ: मुख्यमन्त्री शाह
बाजुरा, ६ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तिनाथ जस्तै महत्त्व बोकेका बडीमालिका क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । त्रिवेणी नगरपालिका–४ तोलीस्थित तोली देवल माध्यमिक विद्यालयले आयोजना गरेको बडीमालिका मष्टो देवल ज्ञान, विज्ञान धार्मिक महायज्ञ महोत्सव उद्घाटन गर्दै उहाँले बडीमालिकाको विकासका लागि तीनै तहका सरकारको भूमिका आवश्यक रहेको र त्यसमा सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
बडीमालिकाको प्रचारप्रसार र व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहले धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा यस क्षेत्रको समग्र विकासका लागि प्रदेशस्तरको समिति गठन गरिएको बताउनुभयो ।
“बडीमालिकाको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले बाजुराका स्थानीय तहका प्रमुख रहेको अध्ययन समिति बनाएका छौँ । त्यहाँ जाने तीर्थयात्रीको सहजताका लागि बाटो, बासका लागि धर्मशाला, खानेपानी, शौचालयको व्यवस्था र स्वास्थ्य सेवाको प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउन अध्ययन समितिलाई निर्देशन दिएको छ । प्रतिवेदन प्राप्त भएपछि काम अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो ।
विद्यालयले अनाथ, टुहुरा बालबालिकाको सर्वाङ्गीण विकास गर्ने ध्येयले अगाडि सारेको योजनामा प्रदेश सरकारले पनि सहयोग गर्ने भन्दै मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षमा आवासीय विद्यालय निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
विद्यालयले हाल बालविकासदेखि कक्षा १२ सम्म ५४ जना अनाथ तथा टुहुरा बालबालिकालाई निःशुल्क अध्ययन गराउँदै आएको छ । विद्यालयले त्रिवेणी नगरपालिका र जिल्लाभित्रका अनाथ, बेसहारा र टुहुरा बालबालिकालाई निःशुल्क रुपमा अध्ययन गराउने गरी महायज्ञ महोत्सव सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष गणेश साउदले जानकारी दिनुभयो ।
महायज्ञमा सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमबहादुर शाही, जुना दानी, हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र मल्ललगायतले आफ्नो धारणा राख्नुभएको थियो । महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।
