धान खेतीमा क्षति भोगेका किसानलाई प्रतिकठ्ठा १५ सय, बेराजगार युवालाई दुई हजार
काठमाडौं । मधेश सरकारले धान खेतीमा क्षति भोगेका किसानलाई प्रतिकठ्ठा १५ सय रूपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले धान खेतीमा क्षति पुगेका किसानहरूलाई राहत दिन लागेको जानकारी गराएका हुन् ।
निर्णय प्रक्रियामा रहेको जानकारी दिँदै उनले भने, ‘यस वर्ष पानी नपरी सुखाग्रस्त भएकोले धान रोपाई जेनतेन ८६.३५ प्रतिशत मात्र भएकोमा धान कटाई बेलामा प्राकृतिक विपत्ति को रूपमा (मोन्था) को अविरल वर्षाबाट प्रमुख खाद्यान्न बालीमा ठूलो क्षति भएको र सो क्षतिको विवरण स्थानीय पालिकामा दर्ता गराएका किसानहरूलाई मधेश प्रदेश सरकारले अन्नदाता किसानहरूलाई राहत स्वरूप १५०० रूपैयाँ प्रति कठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा रहेको सम्पूर्ण न्यायप्रेमी प्रदेशबासीहरूलाई जानकारी गराउँदछु ।’
१८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरूलाई प्रति महिना २ हजारको दरले (जीवन निर्वाह) भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको पनि उनले जानकारी समेत दिएका छन् । ‘प्रदेश सरकारले प्रदेशभित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले (जीवन निर्वाह) बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने । उनका अनुसार करिब एक लाख ४८ हजार यस्ता युवा मधेश प्रदेशमा रहेको तथ्यांक छ ।
बैठकले मधेश प्रदेशका आठवटै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न कार्यविधिको दफा २५ र २६ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको ‘जिल्ला मल वितरण व्यवस्थापन समिति’ र स्थानीय तहको समितिलाई सक्रिय बनाई सघन अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको छ ।
मधेश प्रदेशका उखु किसानले नेपाल सरकारबाट गत÷विगत वर्षदेखि उखु प्रवर्धन खर्च बापत प्रतिक्विन्टल ७० प्राप्त गर्दै आएकोमा आ.व. ०८१/८२ देखि उक्त प्रवद्र्धन खर्च प्राप्त नभई किसान तथा उद्योग समेत समस्यामा परेको हुँदा, उक्त बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन र आगामी वर्ष समेत उक्त अनुदान रकमलाई निरन्तरता दिन नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई अनुरोध गरिएको छ ।

