नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत : स्वर्णिम वाग्ले
काठमाडौँ । अर्थशास्त्री तथा रास्वपाका नेता डा. स्वर्णिम वाग्लेले नेपालमा ‘केही भएको छैन’ भन्ने धारणा बनाउँदै लैजानु तथ्यविपरीत तथा निराशाजनक कुरा भएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतका महत्वपूर्ण आर्थिक उपलब्धिहरूलाई नकार्नु अनुचित हुने स्पष्ट पारे ।
वाग्लेका अनुसार २०४८ सालपछि निर्वाचित सरकारले लागू गरेको आर्थिक उदारीकरण तथा सुधारले देशलाई नयाँ दिशातर्फ अघि बढाएको थियो । ती सुधारका कारण नेपालले केही वर्षका अवधिमा करिब ७ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको उनले स्मरण गराए । उनका अनुसार उक्त सुधारलाई निरन्तरता दिन सकिएको भए आज नेपालको जीडीपी करिब १०० अर्ब डलरको आसपास पुगि सक्थ्यो, तर हालको अर्थतन्त्र करिब ४५ अर्ब डलरको आकारमा सीमित छ । वाग्लेले पछिल्लो डेढ दशकको राजनीतिक–आर्थिक अस्थिरताले विकासको गति कमजोर बनेको उल्लेख गरे । भदौ २३–२४ का घटनालाई उनले देशले भोगिरहेको दीर्घकालीन उथलपुथलको प्रतिबिम्बका रूपमा व्याख्या गरे । जेन–जी पुस्ताले अघि सारेको आन्दोलनले देश नयाँ मोडमा पुगेको उनको विश्लेषण छ ।
उनका अनुसार हालको संक्रमण व्यवस्थापन गर्न सकियो भने नेपालले नयाँ आर्थिक र राजनीतिक मार्गचित्र निर्माण गर्न सक्छ । तर यसमा असफलता जनाए पुनः प्रतिगमनतर्फ धकेलिने जोखिम अत्यन्त गम्भीर हुने चेतावनी पनि उनले दिए । वाग्लेले नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले देशलाई संकटबाट निकाल्ने नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले देशभरका युवासँग आफ्ना अन्तरक्रिया उद्धृत गर्दै निराशा बढ्दो देखिए पनि ‘सबै खत्तम छ’ भन्ने कथन यथार्थसम्मत नहुने बताए ।
उनले भने, ‘नेपालमा केही पनि भएको छैन भनेर निराशा फैलाउनु उचित होइन। विगतमा भएका सकारात्मक परिवर्तनलाई स्वीकार गरेरै अघि बढ्नु पर्छ ।’ २०४८ सालको सरकारद्वारा शुरू गरिएको सुधारलाई उनले नेपालले कहिल्यै व्यवस्थित रूपमा निरन्तरता नदिनु नै पछिल्लो आर्थिक सुस्तताको एक प्रमुख कारण ठाने ।
आगामी निर्वाचनपछि बन्ने नयाँ सरकारलाई डा. वाग्लेले आर्थिक विकासका लागि दर्जनौँ कानुन र नीतिमा गहिरो संरचनात्मक सुधार आवश्यक हुने बताए । उनका अनुसार नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण, शासन सुधार र संस्थागत स्थायित्व नै अबको मुख्य एजेण्डा बन्नु पर्छ । वाग्लेले चेतावनी र सम्भावना दुवैलाई समान रूपमा प्रस्तुत गर्दै भने, ‘मुलुकको अर्थ–राजनीतिक ट्रयाजेक्टरी अहिले मोडिने ठाउँमा छ । यसलाई सम्हाल्न सक्यौँ भने नयाँ मार्ग खुल्छ; अन्यथा आशा मर्ने, युवाको भरोसा टुट्ने खतरा छ ।’
