सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताए । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पतिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पति सिर्जना गरे पनि त्यो मुलुकको सम्पति हुने उनको भनाई छ ।
विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उनले बताए । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पतिमाथि हमला गर्न नमिल्ने उनको भनाई छ । उनले भने, ‘मुलुकमा जोसुकैले सम्पति सिर्जना गरे पनि कसैले हाईड्रोपावर बनायो, कसैले डिर्पामेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो की विदेशीले लगानी गरेको भन्ने कुरा कति पनि माने राख्दैन । विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पती आज हामीले प्रयोग गरिरहेका छौँ ।’
उनले भने, ‘त्यसको स्वामित्व हस्तान्तरण भएर नेपाली लगानीकर्ताको हातमा आएको होला, कतिपय स्वामित्व हस्तान्तरण भएर नेपाल सरकारको हातमा पनि आएको होला । सम्पति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरु हुन्छन्, कानुनसम्मत ढंगले कुनै पनि व्यक्तिलाई अपराधीकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधीकरण गर्नु चाँही कानुनी राज्यमा मिल्दै मिल्दैन ।’
उनले सही सूचना प्रवाह नहुँदा पनि अपराधिक क्रियाकलापहरु बढ्ने गरेको बताए । उनले सूचनाको गम्भिरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिए ।
