`

प्रधानमन्त्रीलाई पूर्व राष्ट्रपति भण्डारीको आग्रह : निर्वाचन घोषित मितिमै होस्

Nepal One HD २१ मंसिर २०८२ १७:००
प्रमुख खबर

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराइन् । उनले सरकारले गरिरहेको कार्यप्रति पूर्व राष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताइन् । उनले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।

उनले भने, ‘भेटको शुरुमा स्वास्थ्यसम्बन्धी र दिनचर्याका विषयमा चासो राख्नु भयो दुवै जनाले पारिवारिक कुराकानीहरु पनि उहाँहरुबीच एकदमै आत्मियताका साथ भयो । त्यसबाहेक अहिले सरकारले गरिरहेको कामको सन्दर्भमा प्रधानमन्त्री ज्युले केही कुराहरु साझा गर्नुभयो । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पूर्व राष्ट्रपति ज्युले सल्लाह दिनुभयो । आवश्यक परेको सहयोगका लागि आफू तयार रहेको पनि उहाँले भन्नुभयो । त्यसबारे भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा सरकारले चालिरहेको कार्यप्रति पनि उहाँले सकारात्मक भाव राख्नुभयो । प्रधानमन्त्रीले सोहीअनुसार कुरा राख्नु भयो ।’

पूर्व राष्ट्रपति भण्डारीले आईतवार जेन–जी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी छन् । पूर्व राष्ट्रपति भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना भएको बताएकी छन् । आइतबार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २४ गते सरकारी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताइन् । सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरुको पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन् ।

उनले भनिन् ‘भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरु तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरुको पुनर्निर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु । तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना हो । नेपालको इतिहासमा कहिल्यै नभएको दुःखद् घटना हो । भविष्यमा पनि यस्तो कुनै घटना नहोस् ।’ उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *