विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ ।
सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको (ओभरहेड) तार हटाउन तत्काल सुरु गर्ने आग्रह गरे ।
प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत् आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेडलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गरे ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो ।
दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौं उपत्यकाभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ ।
यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ ।
भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको आवागमन र पैदल यात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिन भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।
