बुहारीले विष मिसाएर खाना दिंदा सासुको मृत्यु, ससुराको अवस्था गम्भीर
विराटनगर । बुहारीले खानामा विष मिसाएर दिंदा मोरङ बेलबारी–२ मा सासुको ज्यान गएको छ भने ससुरा गम्भीर बिरामी परेका छन् । बुहारीले खानामा हालेर विष खुवाउँदा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुहारीले वृद्ध सासु–ससुरालाई विष मिसाएर खाना खुवाएको घटनाले सिंगो गाउँमा त्रास फैलिएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो सिंहदेवी टोलमा अत्यन्तै अस्वाभाविक दृश्य देखिएको हो । स्थानीयले घर नजिकैको खोल्सामा भक्तबहादुरलाई अचेत अवस्थामा लडिरहेको देखे । उनलाई तत्काल उद्धार गरी घर पुर्याए । घरभित्र उनकी पत्नी इन्द्रमाया राई समेत बेहोस अवस्थामा ढलिरहेको भेटिइन् । वरपर हेर्दा घरको खोरमा रहेका तीनवटा कुखुरा समेत मरिरहेको भेटिए । एउटै घरका मानिस एवं पशुपंक्षी एकैसाथ अचेत र मरेको अवस्था भेटिएको घटनामा गम्भीर आशंका जन्मियो ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली तत्काल घटनास्थलमा पुग्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार अचेत अवस्थामा भेटिएका दम्पतीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालको आईसीयूमा राखेर उपचार थालिए पनि इन्द्रमाया राईको अवस्था सुधार हुन सकेन । उपचारकै क्रममा राति १०ः४० बजेतिर उनको मृत्यु भयो । शवलाई पोस्टमार्टमका लागि विराटनगरकै कोशी अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार भक्तबहादुरको अवस्था अत्यन्तै गम्भीर छ ।
डीएसपी चौधरीका अनुसार वृद्ध दम्पती अचेत हुनु, कुखुरा मर्नु र घरभित्रको अवस्थाले खानामा विषादी मिसाइएको प्रबल संकेत दिएको थियो । थप अनुसन्धानका क्रममा घरमै बस्दै आएकी भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनी हाल इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा छन् । सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
प्रहरीले घटनास्थलबाट विषादीको एउटा बट्टा समेत फेला पारेको छ । तर, त्यो बट्टा अँगेनोमा जलाइएको अवस्थामा भेटिएकाले कुन प्रकारको विष प्रयोग भएको थियो भन्ने कुरा तत्काल यकिन हुन नसकेको डीएसपी चौधरीले बताए । थप अनुसन्धान र विशेष परीक्षणपछि मात्रै वास्तविक विषको प्रकार पुष्टि हुने प्रहरीको भनाइ छ । घटनाको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक बयान र प्रमाणको आधारमा सुनीताले वृद्ध सासु–ससुरालाई विष मिसाएर खाना खुवाएको निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीका अनुसार दम्पतीले आफूहरुले खाएपछि बाँकी रहेको खाना कुखुरालाई खुवाएका थिए। त्यही खाना खाएका कारण कुखुरा समेत मरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तबहादुर र इन्द्रमायाका सन्तान थिएनन् । उनीहरू आफ्ना भतिजा प्रशान राई र उनकी पत्नी सुनीता कार्कीलाई आश्रय दिएर सँगै बस्दै आएका थिए । घटना भएको समयमा प्रशान घर बाहिर रहेका थिए । घरभित्र वृद्ध अवस्थाका सासु–ससुरासँग सुनीता मात्रै रहेको र खानामा विष हालेर दिएको पाइएको प्रहरीले जनाएको छ । खाना विष मिसाउनुको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताए ।
सम्पत्तिको लोभ, पारिवारिक कलह वा अन्य कुनै विवादका कारण बुहारीले यस्तो कृत्य गरिन् भन्ने बारेमा विस्तृत अनुसन्धानपछि पत्ता लाग्ने उनको भनाइ छ । उनका अनुसार पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीसम्बन्धी प्रयोगशाला परीक्षणलगायतका प्रक्रिया पूरा गरेर अनुसन्धान सकिएपछि घटनाको वास्तविक कारण सार्वजनिक गर्न सकिनेछ ।
