युरोभिजनमा ३५ देश प्रतिस्पर्धामा
युरोभिजन सङ्ग प्रतियोगिताका आयोजकहरूले सोमबार अर्को वर्ष आयोजना हुने प्रतियोगितामा ३५ वटा देश सहभागी हुने अन्तिम सूची सार्वजनिक गरेका छन् । इजरायलको सहभागितालाई लिएर उत्पन्न विवादका कारण पाँच देशले बहिष्कार गर्ने घोषणा गरेपछि सहभागी राष्ट्रहरूको सङ्ख्या घटेको हो ।
यस महिनाको सुरुमा पाँच मुलुक आइसल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्लोभेनिया र स्पेनले प्रतियोगिताबाट बाहिर बस्ने योजना सार्वजनिक गरेपछि आयोजकहरूले मे महिनामा भियनामा आयोजना हुने सन् २०२६ को फाइनलका लागि सहभागी देशहरूको सूची घोषणा गरेका हुन् । ती देशले इजरायलको सहभागितासँग जोडिएको राजनीतिक र नैतिक विवादका कारण आफूहरू प्रतिस्पर्धामा नआउने निर्णय गरेको बताएका छन् ।
यस वर्ष भने कुल ३७ वटा देशले युरोभिजन सङ्ग प्रतियोगितामा भाग लिएका थिए, जसमा अस्ट्रियाका कलाकार जेजे विजयी हुनुभएको थियो । पछिल्ला वर्षहरूमा कलात्मक वा आर्थिक कारण देखाउँदै प्रतियोगिताबाट अलग भएका तीन देश—बुल्गेरिया, मोल्दोभा र रोमानिया—आगामी संस्करणमा पुनः फर्कने भएका छन् । यसले सहभागीहरूको विविधतालाई केही हदसम्म सन्तुलनमा ल्याएको छ ।
प्रतियोगिताका केही सबैभन्दा स्थापित र उच्च–प्रोफाइल सहभागीहरू मध्ये एक मानिने आयरल्यान्डले स्विडेनसँग जितको साझा कीर्तिमान कायम राख्दै आएको छ । तर आयरल्यान्डसहित अन्य देशहरूको बहिष्कारले युरोभिजनलाई घेरेको राजनीतिक विवादलाई केन्द्र मञ्चमा ल्याएको छ, जसका कारण कार्यक्रमको परम्परागत रूपमा उत्सवमय र सकारात्मक अनुभूति दिने चरित्र ओझेलमा परेको टिप्पणी हुन थालेको छ ।
गत हप्ता सन् २०२४ का विजेता स्विट्जरल्यान्डका गैर–बाइनरी गायक नेमोले पनि इजरायललाई प्रतिस्पर्धा गर्न अनुमति दिइएकोमा असन्तुष्टि जनाउँदै आफ्नो विजेता ट्रफी फिर्ता गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । उहाँले पप–अपरेटिक शैलीको गीत ‘द कोड’ मार्फत उपाधि जित्नु भएको थियो र उहाँको यस कदमले विवादलाई अझ चर्काएको छ ।
गाजामा जारी इजरायल–हमास युद्धको सञ्चालनलाई लिएर व्यापक विरोध भइरहेको छ । साथै, इजरायलले आफ्ना प्रतिस्पर्धीहरूको पक्षमा मत परिणाम प्रभावित गरेको आरोप पनि उठेका छन् । यस्ता आरोप र विरोधका बाबजुद आयोजकहरूले यस महिनाको सुरुमा इजरायललाई प्रतियोगितामा भाग लिन दिने निर्णय कायम राखेका थिए ।
छपन्न देशका सार्वजनिक प्रसारण संस्थाहरूको साझा सङ्गठन युरोपियन ब्रोडकास्टिङ युनियन (इबियु) ले मत धाँधलीसम्बन्धी चिन्ता सम्बोधन गर्न विभिन्न सुधारका उपायहरू घोषणा गरेको थियो । तर ती सुधारहरू बहिष्कार गर्ने देशहरूलाई सन्तुष्ट पार्न पर्याप्त नभएको देखिएको छ, जसका कारण उनीहरूको निर्णय यथावत् रहेको छ ।
हरेक वर्ष १० करोडभन्दा बढी दर्शकलाई आकर्षित गर्ने युरोभिजन सङ्ग प्रतियोगिता विश्वकै सबैभन्दा धेरै हेरिने टेलिभिजन कार्यक्रमहरूमध्ये एक मानिन्छ । तर पछिल्ला दुई वर्षदेखि गाजामा भएको युद्धका कारण प्रतियोगिता स्थल वरिपरि विरोध प्रदर्शनहरू भइरहेका छन् र आयोजकहरूले राजनीतिक झण्डा तथा सन्देशहरू नियन्त्रण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विश्लेषकहरूका अनुसार कार्यक्रमको ७०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा देखिएको यो बहिष्कार युरोभिजनले भोग्नुपरेको सबैभन्दा गम्भीर सङ्कटहरूमध्ये एक हो । यस्तो समयमै धेरै सार्वजनिक प्रसारण संस्थाहरू आर्थिक दबाबमा परिरहेका छन् र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूले दर्शकको ध्यान अन्यत्र तानिरहेका छन् ।
यसैबीच, इजरायली अधिकारीहरूले इजरायललाई प्रतिस्पर्धामा सहभागी हुन दिने निर्णयलाई समर्थन गर्ने अधिकांश इबियु सदस्य प्रसारणकर्ताहरूको कदमको स्वागत गरेका छन् । उनीहरूले राजनीतिक विवादमा सङ्गीतकारहरूलाई तानिँदा अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा पर्न सक्ने चेतावनी समेत दिएका छन् ।
