उपाध्यक्ष निर्वाचित गुरुङले भने–नतिजाले कार्यकर्ताबाट न्याय मिल्छ भन्ने कुरा प्रमाणित गर्यो
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मतसहित निर्वाचित पृथ्वीसुब्बा गुरुङले निर्वाचन परिणामले कार्यकर्ताले सही मूल्याङ्कन गरेर न्याय गर्ने शक्ति राख्छन् भन्ने स्पष्ट भएको बताएका छन्। परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटकको नतिजा कुनै एक प्यानलको एकल जित नभई पार्टीभित्रको लोकतान्त्रिक चेतनाको प्रतिबिम्ब भएको बताए ।
उनका अनुसार पदाधिकारी तहमा दुवै प्यानलका उम्मेदवार निर्वाचित हुनु पार्टीको बृहत्तर एकता र सन्तुलनको संकेत हो। पार्टीभित्र देखिएका समस्या समाधान गर्ने, गुटभन्दा माथि उठेर सबै पंक्तिमा पुग्ने नेताहरूलाई कार्यकर्ताले रोजेको उनले दाबी गरे । गुरुङले एमाले प्रतिस्पर्धाबाट खारिँदै आएको पार्टी भएको उल्लेख गर्दै प्रतिस्पर्धालाई कमजोरी होइन, शक्ति ठाने । धेरै कार्यकर्ताको विश्वास जित्ने नेतृत्व नै पार्टी अघि बढाउने सही आधार भएको उनको भनाइ थियो । जनताको बहुदलीय जनवादको मूल मर्म नै कार्यकर्ताले पत्याएको नेतृत्वलाई जिम्मेवारी दिएको उनले स्मरण गराए ।
अध्यक्षदेखि पदाधिकारीसम्म निर्वाचनबाट चयन गर्ने अभ्यास कम्युनिस्ट आन्दोलनमै ऐतिहासिक भएको दाबी गर्दै गुरुङले अब पार्टी संगठनात्मक रूपमा थप सुदृढ हुने विश्वास व्यक्त गरे। राजनीतिक रूपमा मुलुकको नेतृत्व गर्ने, लोकप्रिय र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अझ बलियो ढङ्गले अघि बढाउने सामथ्र्य एमालेसँग रहेको उनको भनाइ थियो । प्यानलगत प्रतिस्पर्धा भए पनि अब क्षमताअनुसार सबैलाई जिम्मेवारी दिइने उनले स्पष्ट पारे । लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै उनले हार्ने उम्मेदवारलाई चित्त नसानो बनाउन र जित्नेहरूलाई पनि अहंकार नगर्न आग्रह गरे। सबैले कुनै न कुनै जिम्मेवारी पाउने उनको सन्देश थियो ।
