मधेशको मनोविज्ञान छाम्दै डा डिला संग्रौला
काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त मधेशको यात्रामा छिन् ।गत भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै गएको छ। यसबीचमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले यही पुस २६–२८ गते पार्टीको १५ औं महाधिवेशनको मिति पनि तय गरेको छ ।
नेपाल महिला संघको सफल नेतृत्व गरिसकेकी पन्त पार्टीमा केन्द्रीय सदस्यको भूमिका पनि प्रभावकारी ढंगले निर्वाह गर्दै आएकी नेतृत्व हुन् । यसैगरी पछिल्लो समय १५ औं महाधिवेशनको मितिका सन्दर्भमा स्पष्टरुपमा निर्धारित मितिमा नियमित महाधिवेशनको पक्षमा उनले अडान राखेकी थिइन् । उनीसहित २८ जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए । अहिले पार्टीले महाधिवेशनको मिति तोकेपछि उनी आफ्ना गतिविधिलाई मधेश केन्द्रीत गरेकी छन् ।
आगामी महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी उनले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषाको भ्रमण पूरा गरेकी छिन् भने बाँकी जिल्लाको पनि सोमबारसम्म भ्रमण पूरा गर्ने जानकारी दिइन् । उनले मधेश नेपाली कांग्रेसको आधारभूमि भएकाले शीत लहरका बावजुद पनि आफू मधेश यात्रामा रहेको बताइन् । उनले भनिन् ‘मैले जिल्ला जिल्लामा साथीहरुसँग छलफल गरेर कसरी नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने भन्ने विषयमा छलफल गरी रहेकी छु ।’ ‘मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन,’ उनले भनिन् ।
पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । कांग्रेसले मधेशलाई ‘भोट बैंक’ को रूपमा मात्र नभई ‘विचारको केन्द्र’ का रूपमा हेर्नु पर्नेमा उनको जोड छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनु पर्नेमा उनले जोड दिइन् ।
उनले भनिन्, ‘१५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र होइन, यो कांग्रेसलाई २१ औं शताब्दीको गति र प्रविधिसँग जोड्ने अवसर पनि हो । त्यसैलै हामीलाई पद मात्र होइन, जनताको विश्वास जित्ने संगठन चाहिएको छ ।’
उनले पार्टीभित्र क्रियाशील सदस्यताको वितरणलाई पारदर्शी बनाउन सबैले खबरदारी गर्नु पर्नेमा जोड दिइन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ बनेको इंगित गर्दै सुझबुझपूर्ण नेतृत्व नै आजको आवश्यकता रहेको उनले बताइन् ।
डा. संग्रौलाले आफ्नो भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सीमित नगरी मधेशको सांस्कृतिक र आर्थिक पाटोलाई पनि मसिनोसँग केलाउने गरेकी छिन् । उनी भन्छिन्, ‘मधेश आर्थिक समृद्धिको ढोका हो, तर यहाँका किसान सधैं मल र बीउको अभावमा छट्पटिनु दुखद छ ।’ संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने र स्थानीय निकायमा सुशासन कायम गर्नु पर्नेमा उनले जोड दिइन् ।यसैगरी दलित, मुस्लिम, मधेशी र पिछडिएको वर्गको प्रतिनिधित्व बिनाको कांग्रेस पूर्ण नहुने उनको तर्क छ । उनले भनिन्, “सबै अट्ने कांग्रेस बनाउनु नै अहिलेको मुख्य चुनौती हो.”
