`

साढे ८ महिनापछि घण्टीघर फर्किदै रवि लामिछाने

Nepal One HD ६ पुष २०८२ ११:५०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे आठ महिनापछि पार्टीको केन्द्रीय कार्यालयमा पुनः उपस्थित हुँदैछन् । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा झण्डै पौने चार करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि उनी पार्टी गतिविधिमा सक्रिय देखिएका हुन् ।

गत शुक्रबार नक्खु कारागारबाट रिहा भएका लामिछाने आज पुस ६ गते दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्दैछन् । रास्वपा प्रवक्ता मीनष झाले लामिछानेको स्वागतका लागि पार्टीले औपचारिक कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार लामिछाने यसअघि अन्तिम पटक गत चैत १८ गते पार्टी कार्यालयमा उपस्थित भएका थिए ।

धरौटी बुझाउन रुपन्देही पुगेका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने रिहा भएपछि शनिबार चितवन पुगेका थिए । त्यहाँ उनले पार्टी कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै आफ्नो राजनीतिक यात्रामा आएको कठिन समयलाई धैर्य र विश्वासका साथ पार गरेको सन्देश दिएका थिए । त्यसपछि शनिबारै उनी काठमाडौं फर्किएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरूले उनलाई बाजागाजा र नाराबाजीसहित स्वागत गरेका थिए ।

काठमाडौं आइपुगे लगत्तै लामिछानेले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न उपत्यकाका विभिन्न अस्पताल पुगे । घाइतेहरूसँग भेट्दै उनले आफू सधैं उनीहरूको साथमा रहेको र उनीहरूको सपना पूरा गराउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर जेनजी आन्दोलनका शहीद परिवारसँग पनि छलफल गरेका थिए ।

शहीद परिवारसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको उल्लेख गर्दै शहीद परिवारलाई न्याय दिलाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक लड्ने बताए । उनले जेनजी आन्दोलन र त्यसका पीडित परिवारका मागप्रति रास्वपा पूर्ण रूपमा ऐक्यबद्ध रहेको जिकिर गरे ।

लामिछानेका अनुसार शहीद परिवारहरूले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा समेत सरकारले प्रभावकारी कारबाही अघि नबढाएको गुनासो गरेका छन् । उनले सुशासन कायम गर्ने सवालमा सरकारलाई रास्वपाको पूर्ण साथ रहने दोहो¥याउँदै पीडितको न्याय र उत्तरदायित्व सुनिश्चित गर्न दबाब सिर्जना गर्ने बताए । सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछानेलाई अदालतले थुनामुक्त गरेसँगै उनी पुनः राजनीतिक रूपमा सक्रिय भएका छन् । पार्टी कार्यालयमा उनको पुनरागमनलाई रास्वपाले नयाँ ऊर्जा र संगठनात्मक सक्रियताको संकेतका रूपमा हेरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *