महाधिवेशन विना निर्वाचनमा गए कांग्रेसको शर्मनाक हार हुन्छ : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् । आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनु पर्नेमा जोड दिए ।
कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गरे । साथै उनले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गरे । उनले भने, ‘महाधिवेशनको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।’
पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसकेको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए । पार्टीको १४औं महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिष्पर्धा गर्ने जानकारी गराए । नेता पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको शर्मनाक हार हुने बताएका छन् । संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने उनको भनाइ छ । ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ’, पौडेलले भने, ‘अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्यो नि ।’
