`

कांग्रेस महाधिवेशन धकेलिन सक्छ, देशमा निर्वाचनको माहोल छैन : शेखर कोइराला

Nepal One HD ८ पुष २०८२ १६:५४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरुले धेरै चासो देखाउन जरुरी नरहेको उल्लेख गरे । आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशिल सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको बताए । आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।

नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशनले तपाईं, हामी सबैलाई हुँदा हुँदा मिडियालाई पनि किन चिन्ता लागेको हो मैले बुझेको छैन । नेपाली कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको ? एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार चार वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि नेपाली काँग्रेसको अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली काँग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’

उनले भने, ‘अब यो पत्रकारहरुले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ । तर क्रियाशिल सदस्य नयाँ थपिए । नयाँ क्रियाशिल सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।’ नेता कोइरालाले सरकारले निर्वाचन फागुन २१ मा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको बताए ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *