शहीद परिवारलाई बेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा
काठमाडौं । शहीद परिवारलाई बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरुको आरोप छ ।
शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । मधेसी शहीद प्रतिष्ठानका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिवारसम्म आफूहरुको माग सम्बोधनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्ने बताए । सरकारले शहीद परिवारलाई अपमान गर्नुका साथै मधेसी शहीद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरुलाई महशुस भएको उनीहरुको भनाइ छ ।
मधेसी शहीद प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरु प्रतिष्ठानमा आएको ७-८ महिना भईसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे गृह सञ्चार तथा कानून मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरुलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उनले आरोप लगाए । मधेसी शहीद प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौ बितिसक्दा समेत ऐन मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेको समेत बताए ।
