`

सम्पत्ति विवरण बुझाएका छौं, नियमावलीका कारण सार्वजनिक गर्न मिलेन: सञ्चारमन्त्री खरेल

Nepal One HD ९ पुष २०८२ २०:०१
बिशेष

काठमाडौँ। सञ्चार मन्त्री जगदिश खरेलले मन्त्रिपरिषदका सबै सदस्यले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाए पनि नियमावलीका कारण सार्वजनिक गर्न नसकिएको तर्क गरेका छन् । नेसनल प्रेस क्लब नेपालले अनामनगरमा आयोजना गरेको ‘संचारमन्त्रीसङ्ग संचारकर्मी’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री खरेलले उक्त दाबी गरेका हुन् ।

जेन-जी आन्दोलनको जगमा बनेको सरकारले सय दिनमा मात्रै ४० भन्दा बढी ठूला भ्रष्टाचारका मुद्दा अदालतमा लगेको दाबी गरेका छन् ।

‘ अहिलेको सरकार इतिहासकै शसक्त नगरिक सरकार हो । यो सरकार बनेको १०० दिनमा अहिलेसम्म ४० भन्दा बढी ठूला भ्रष्टा‍चारका मुद्दा अदालतमा पुगेका छन्,’ उनले भने ‘ वर्तमान सरकार सुशासनको लागि बनेको हो। हामी भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्द भएर लागेका छौ‌ं।’

कार्यक्रममा आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सरकारको तयारी, सरकार बनेपछिको सय दिनको समिक्षा, सामाजिक सञ्जाल नियमन र नेपालमा सञ्चार क्षेत्रमा रहेका चुनौती र अवसर लगायतका अरु विभिन्न समसामयिक विषयहरुमा अन्तरक्रिया भएको थियो ।

सामाजिक संजाल नियमन कि नियन्त्रण भन्ने विषयमा बोल्दै मन्त्री खरेलले अब नेपालमा कहिल्यै पनि सामाजिक संजाल बन्द नहुने बताए । ‘ सामाजिक संजाल नियन्त्रण होइन, सरकारले नियमन गर्छ’, उनले भने ‘ सरकारले सामाजिक सञ्जाल माथि कुनै पनि किसिमको हस्तक्षेप गर्नु हुँदैन । आइन्दा नेपालमा कहिल्यै पनि सामाजिक सञ्जाल बन्द गरिने छैन । सामाजिक सञ्जाल नियमन गर्दा आम जनताको सर्वोपरी हितलाई केन्द्रमा राखिनुपर्छ ।’

मन्त्री खरेलले सरकारले आफ्नो कार्यकालका सय दिनमा थुप्रै महत्वपूर्ण हासिल गरेको दाबी पनि गरेका छन् । ‘ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि देशमा उत्पन्न भएको डर, त्रासको अन्त्य गर्न अहिलेको सरकार सफल भएको छ। ‘, उनले भने ‘सय दिनको अवधीमा सबै राजनैतिक दललाई चुनावमा ल्याउने वातावरण बनाएको छ। अहिले तिव्र रुपमा चुनावको तयारी पनि भईरहेको छ। सबै सुरक्षा निकायहरुको गुमेको मनोबल बढाउन पनि हामी सफल भएका छौ।’

नेपालमा सञ्चार क्षेत्रमा रहेका चुनौती र अवसर भन्ने विषयमा बोल्दै मन्त्री खरेलले निष्पक्ष र निडर भएर काम गर्न कार्यक्रममा उपस्थित संचारकर्मीलाई सुझाव दिए । ‘ संचार माध्यमहरुले काम गर्दै गर्दा चारवटा कुरामा ध्यान दिनुपर्छ’, उनले भने ‘ कन्टेट, प्रिजेन्टेसन, टेक्नोलोजी, इक्विपमेन्ट र एक्सेस।’

अन्तरक्रिया कार्यक्रममा ३० भन्दा बढी सञ्चारमाध्यमबाट ५० भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *