`

चुनावको समानान्तर तयारीमा बालेन र रास्वपा, समानुपातिक उम्मेद्वार छान्दै दुवै पक्ष

Nepal One HD १० पुष २०८२ ११:४२
प्रमुख खबर

काठमाडौं। गत सोमबार रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाह (बालेन) बीच भेट भएपछि दुवै मिलेर जाने अपेक्षा गरिएको थियो। झन्डै ७ घण्टा लामो छलफलपछि उनीहरू एउटै गाडीमा निस्किएका थिए । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन सक्ने बताएका थिए । यसले, रास्वपा र टिम बालेनबीच सहमति भएजस्तो देखिएको थियो ।

मंगलबार चितवन पुगेका रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति भइनसकेको मात्रै बताएनन्, छलफल राजनीतिक चरणमै प्रवेश गरिनसकेको स्पष्ट पारे ।

फागुन २१मा हुने निर्वाचनका लागि समानुपातिक सूची बुझाउने दिन नजिकिँदै जाँदा यी दुईबीच कुरा नमिलेको स्पष्ट भएको छ । दुवै समूहले समानुपातिक उम्मेद्वारको सूची बनाउने समानान्तर तयारी गरिरहेका छन् ।

मेयर शाहले मंगलबारबाटै समानुपातिकतर्फका उम्मेद्वार छनोटको तयारी थालेका छन् । यसका साथै उनले विभिन्न दल, समूह र व्यक्तिहरूसँगको राजनीतिक संवाद समेत अघि बढाएका छन् ।

उनले मंगलबार बिहानैबाट ललितपुरमा रहेको सल्लाहकार कुमार बेनको घरमा भेटघाट गरिरहेका छन् । मंगलबार १० वटा भन्दा धेरै भेटघाट भएको उनका एक सहयोगीले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी देखि नागरिक उन्मुक्ति पार्टी हुँदै जेनजी फ्रन्टका नेताहरूसम्मलाई मंगलबार भेटेका थिए । बुधबार पनि यो भेटघाटको सिलसिला जारी रहने छ ।

भेटघाटसँगै उनीहरूले समानुपातिक सूची पनि तयार पारिरहेका छन् । सार्वजनिक ख्याति कमाएका वा कुनै न कुनै क्षेत्रबाट समाजमा सकारात्मक छवि बनाएका मानिसहरूलाई समेटेर समानुपातिक सूची बनाउने कसरत गरिरहेका छन्, जसमा जेनजी आन्दोलनका अगुवालाई पनि समेटेर लैजाने बताइएको छ । बुधबार दिन भरी मेयर शाहको समानुपातिक उम्मेद्वारका आकांक्षीसँग भेटघाटको कार्यक्रम तय गरिएको उनका एक सहयोगीले बताए ।

‘उहाँले सबै पक्षसँग भेटघाट र संवाद गर्न चाहनुभएको छ,’ ती सहयोगीले भने, ‘आज समानुपातिकका सम्भावित उम्मेद्वारसँग छलफल गर्ने योजना छ । केही सूची बनाएर हामीले नै बोलाएका पनि छौं । कोही आकांक्षी हुनुहुन्छ भने उहाँहरूले आफैं सम्पर्क गरेर आउनुभयो पनि हामी भेटेर कुरा गरिरहेका छौं ।’

रास्वपासँग कुरा नमिलेपछि लौरो चुनावचिन्ह भएको देशविकास पार्टीलाई अगाडि लैजानेगरी बालेनको समूह चुनावको तयारीमा लागेको हो ।

यस्तै, रास्वपाले पनि आजैबाट समानुपातिक उम्मेद्वारको सूची फाइनल गर्न औपचारिक तयारी सुरू गरेको छ । यसअघि नै आकांक्षीहरूबाट आवेदन लिएको रास्वपाले आवेदनमा आएका नामहरूबाट प्राथमिकताका आधारमा छनोट गर्ने छ ।

दुई पक्षले अलगअलग तयारी थालेपछि एउटै पार्टीबाट चुनावमा जाने सम्भावना करिब-करिब सकिएको छ । समानुपातिक सूची बुझाउने अन्तिम दिनसम्म पनि सहमति भएन भने रवि र बालेनका अलगअलग पार्टी चुनावमा सहभागी हुनेछन् ।

बालेनले रक्षा बम, उपार्जुन चाम्लिङ लगायतका जेनजी नेतालाई भित्र्याएर पार्टी बनाउने कसरत गरिरहेका छन् । यस्तै सिके राउत, रेशम चौधरी लगायतसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् भने कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पनि सहकार्यका लागि सकारात्मक रहेको बताएका छन् । यस्तै राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई पनि आफ्नो पार्टीमा भित्र्याउने तयारी गरिरहेका छन् ।

वैकल्पिक र नयाँ शक्तिहरूसँग सहकार्य गरेर रास्वपालाई एक्ल्याउने रणनीतिमा बालेन देखिन्छन् । यसले, रास्वपामाथि सहकार्यका लागि दबाव सिर्जना हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *