घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ–समयले बताउँला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच अढाइ घण्टासम्म चलेको वार्ता सकिएको छ । वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भएको थियो । वार्ता सकिएपछि लामिछाने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिन तयार भएनन् । ‘वार्ता कस्तो भयो ?’ भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ अर्को प्रश्न, ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ मा भने उनले जवाफ दिए, ‘बाँकी समयले बताउँला ।’
लामिछानेले थप भने, ‘जनताले चाहेको परिणामको लागि अलिकति प्रतीक्षा गर्नुस् ।’ सञ्चारकर्मीले थपे, ‘अनुहारमा त सधैं चमक छ नि’, भनेपछि उनले छोटोमा धन्यवाद व्यक्त गरे । वार्ताको विषयवस्तु र परिणामबारे अहिले स्पष्ट जानकारी नआएको भए पनि, लामिछानेको जवाफले संवाद सकारात्मक रहेको संकेत दिएको छ ।
