`

ओली, देउवा र प्रचण्ड ‘फकाउन’ निवासमै सरकार

Nepal One HD ११ पुष २०८२ १४:४९
अर्थ समाचार

काठमाडौँ । सरकार आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन तीव्र रुपमा राजनीतिक संवादमा जुटेको छ । निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नका लागि सरकारले प्रमुख राजनीतिक दलहरू, तिनका शीर्ष नेता तथा सरोकारवाला निकायहरूसँग लगातार छलफल गरिरहेको छ । पछिल्ला दिनहरूमा सरकारको सक्रियता झनै बढेको देखिन्छ, जसलाई आगामी फागुन २१ गते तोकिएको निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ ।

यसैक्रममा गत मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिको पहलमा प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरू–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी थिइन् । जेन–जी आन्दोलनपछिको यो पहिलो उच्चस्तरीय राजनीतिक भेटवार्ता मानिएको थियो । उक्त भेटपछि सरकारले अन्य राजनीतिक दलहरूसँग पनि छलफलको क्रमलाई निरन्तरता दिएको छ ।

आज (शुक्रबार) मात्रै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेल उच्चस्तरीय राजनीतिक भेटघाटका लागि विभिन्न मुख्य तीन दलका पार्टी कार्यालय र शीर्ष नेताहरूका निजी निवाससम्म पुगेका छन् । यसअघि विभिन्न पार्टी कार्यालयको निरीक्षण गरेका खरेल आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका छन् । मन्त्री खरेलले बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित उनको निजी निवासमा भेटेका थिए । त्यसपछि उनी भ्रक्तपुरको गुण्डु हुँदै हात्तीवन पुगेका हुन् ।

देउवासँगको भेटपछि खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेका थिए । करिब एक घण्टा लामो छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको खरेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा आगामी फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन, सुरक्षा अवस्था र राजनीतिक वातावरणका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलका क्रममा एमाले अध्यक्ष ओलीले नेकपा एमाले निर्वाचनबाट नभाग्ने स्पष्ट धारणा राख्दै सरकारले निष्पक्ष र भयरहित वातावरण तयार गर्न नसकेको टिप्पणी गरेका थिए । ओलीले भागेका कैदी, लुटिएका हातहतियार र नेताहरूमाथि लगाइएको स्थानहदको विषय उठाउँदै अहिले पनि देशमा डर, त्रास र भयको अवस्था कायमै रहेको बताए । ‘तपाईंहरू चुनाव–चुनाव भनिरहनुभएको छ, तर भागेका कैदीबन्दी बाहिरै छन्, लुटिएका हातहतियार फिर्ता भएका छैनन् । यस्तो अवस्थामा चुनाव कसरी सम्भव हुन्छ ?’ भन्दै ओलीले प्रश्न उठाएका थिए । साथै उनले नेकपा एमाले लोकतान्त्रिक प्रक्रियाबाट कहिल्यै नभाग्ने र सधैं निष्पक्ष तथा भयरहित निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले सरकारले फागुन २१ मै निर्वाचन गर्नेगरी पूर्ण तयारीका साथ अघि बढिरहेको बताए । ‘मैले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यूसँग निर्वाचन केन्द्रित छलफल गरेको छु,’ खरेलले भने, ‘उहाँहरूले उठाउनु भएको सुरक्षा र वातावरणसम्बन्धी चिन्ता स्वाभाविक हो । सरकार ती सबै विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्दैछ ।’

खरेलका अनुसार निर्वाचन आयोग चुनाव गर्न तयारी अवस्थामा छ, सुरक्षा व्यवस्था मजबुत बनाइएको छ र २०७९ को निर्वाचनको तुलनामा यसपटक जनताको उत्साह अझै बढेको छ । करिब १० लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै उनले सबै दललाई भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री खरेलले आजै नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटघाट गरेका छन् । सरकारको यो सक्रियताले निर्वाचन समयमै हुने अपेक्षा बढेको छ भने राजनीतिक दलहरूबीच सहमति र विश्वासको वातावरण बनाउने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *