क्यासिनो वाल्डोका चिनियाँ मुख्य लगानीकर्ता पक्राउ
काठमाडौं । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन भइरहेको क्यासिनो वाल्डोमा योजनाबद्ध रूपमा ठगी गरिँदै आएको खुलासा भएपछि त्यसका मुख्य चिनियाँ लगानीकर्ता तथा सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लामो समयदेखि फरार रहेका ७५ वर्षीय CHAn\ MAn\ CHYING लाई परिसरको विशेष टोलीले काठमाडौंमै पक्राउ गरेको हो । उनी क्यासिनो वाल्डोका प्रमुख सञ्चालक भएको प्रहरीको दाबी छ ।
यसअघि प्रहरीले क्यासिनोमा इभेन्ट आयोजना गरेरै तास खेलमार्फत ग्राहकलाई ठगी गरिएको तथ्य सार्वजनिक गरेको थियो । अनुसन्धानका क्रममा तासमा चिप जडान गरिएको, खेलाडीको आँखामा विशेष प्रकारका लेन्स लगाइने र त्यसको सहायताले तासको दुवै पाटा देखिने व्यवस्था मिलाइएको खुलेको थियो । सोही प्रकरणमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार क्यासिनोका नेपाली सञ्चालक भनिएका विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भने अझै फरार छन् । चिनियाँ लगानीकर्ताको पक्राउसँगै क्यासिनोको संरचनागत संलग्नता पनि थप प्रस्ट भएको प्रहरीले जनाएको छ । डिसेम्बर ११ देखि १४ तारिखसम्म भारत र नेपालका विभिन्न समूहको सहभागितामा क्यासिनोमा विशेष इभेन्ट आयोजना गरिएको थियो ।
प्रहरी अनुसन्धानअनुसार महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेका थिए भने चिप जडित तास र विशेष लेन्स भारतबाट खरिद गरी ल्याइएको थियो । ठगीबाट प्राप्त रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र १० प्रतिशत मात्र खेलाडीले पाउने सहमति भएको तथ्य पनि खुलेको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली तथा भारतीय मुद्रा, म्याग्नेट जडित तास, सयौँ लेन्स, हवाई टिकटलगायत सामग्री बरामद गरेको छ। क्यासिनो वाल्डोले कानुनी मापदण्ड उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरी थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । यो प्रकरणले क्यासिनो व्यवसायभित्रको नियमन, पारदर्शिता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
