चार दलले बुझाए समानुपातिकको बन्दसूची
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेसम्म चार वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार पहिलो दिन आइतबार तीन दल र आज थप एक दलले बन्दसूची बुझाएका हुन् । आइतबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनप्रिय लोकतान्त्रिक पार्टी र थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बन्दसूची पेश गरेका थिए । बन्दसूची पेश गर्ने समय सीमा आजसम्म मात्र हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार साँझ ४ बजेसम्म आयोग परिसरभित्र प्रवेश गरिसकेका दलले प्रक्रिया पूरा नहुन्जेलसम्म बन्दसूची पेश गर्न पाउने छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतले आज बन्दसूची बुझाउने तयारी गरेका हुन् । राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । यही माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । यही माघ २० गते अन्तिम सूची प्रकाशन गरिने छ । दलले ११ देखि ११० जनाको बन्द सूची बुझाउनु पर्छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । समानुपातिक निर्वाचनका लागि १ सय दलले ९३ निर्वाचन चिन्हमा भाग लिन आयोगमा दल दर्ता गराएका छन् ।
