संखुवासभामा सामुहिक अलैंची खेती, पैसा ‘बिस्कुन’ लगाएर बाँडेको तस्वीर ‘भाइरल’
काठमाडौं । संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ गोगनेमा सामुहिक रूपमा गरिएको अलैँची खेतीले गाउँको आर्थिक र सामाजिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । अलैंची खेतीबाट यस वर्ष मात्र किसानहरूले एक करोड १७ लाख रुपैयाँ बढी आम्दानी गरेका छन्, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेसँगै यो गाउँ राष्ट्रिय चर्चामा आएको छ ।

भाइरल तस्वीरमा किसानहरू टेबलमाथि थुपारिएको नगद रकम बाँड्दै गरेको देखिन्छ । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ्गका अनुसार ती तस्वीर केही दिनअघि ठेकेदारहरूले किनेको अलैँचीको भुक्तानी किसानहरूले सामुहिक रूपमा बाँडफाँट गरिरहेको बेला खिचिएको हो । तस्वीरले केवल रकमको मात्र होइन, किसानहरूको एकता, पारदर्शिता र सामूहिक श्रमको कथा पनि बोकेको छ । गोगनेमा विगत सात वर्षदेखि सामुहिक अलैँची खेती हुँदै आएको छ । स्थानीय भुकुरचोङ्ग सामुदायिक वन क्षेत्रभित्रको बाँझो जमिनलाई उपयोग गर्दै सुरु गरिएको यो अभियान अहिले गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । यस वर्ष मात्र त्यहाँ ११९ मन अलैँची उत्पादन भएको छ, जसको प्रतिमन मूल्य ९० हजारदेखि १ लाख रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कुलुङ जातिको बाहुल्य रहेको यस गाउँमा ५५ घरधुरी बसोबास गर्छन् । तीमध्ये ४७ परिवार गोगने सामुहिक अलैँची समूहमा आबद्ध छन् । समूहका सदस्य अशोक कुलुङका अनुसार रोपाइँदेखि गोडमेल, टिपाइँ र बिक्रीसम्म सबै काम सामुहिक रूपमा गरिन्छ । ‘हामी सँगै काम गर्छौ, खर्च कटाएर बचेको आम्दानी पनि सँगै बाँड्छौं’, उनले सुनाए । यस वर्ष समूहले प्रतिपरिवार २ लाख ३६ हजार रुपैयाँका दरले आम्दानी बाँडेको छ । यसले गाउँलेहरूको जीवनस्तर उकास्नुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि सहयोग पुगेको छ । शिक्षा, स्वास्थ्य र दैनिकीका खर्च सहज रूपमा धान्न सक्ने अवस्था बनेको स्थानीयको भनाइ छ । गोगनेको सामुहिक अलैँची खेतीले ग्रामीण विकासमा सहकार्य, विश्वास र दीर्घकालीन योजनाले कस्तो सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
