कृषिमन्त्रीका सय दिने उपलब्धि : उखुकाे सर्वाधिक मूल्य निर्धारणदेखि भूरा वितरणसम्म
काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
जेन–जी विद्रोहपछि ६ असोजमा मन्त्री नियुक्त भएका परियारले मंगलबार १०० दिने उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
उनले यसबीचमा कृषि र आम किसानहरूसँग प्रत्यक्ष वा परोक्ष जोडिएका कृषिजन्य उत्पादन प्रवद्र्धन र बजारीकरण, प्रविधि प्रसारण र कृषि अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधारको कार्यसम्पादन गरेको दाबी गरेका छन् ।
देशका विभिन्न स्थानमा खेतबारीमै पुगेर भेटघाट तथा छलफलमार्फत आम किसानका समस्याहरूबारे जानकारी लिँदै सम्भव भएसम्म तत्काल समाधान गरेको विषय पनि उपलब्धिमा समेटेका छन् ।
यी हुन् उपलब्धि :
उखुकाे सर्वाधिक न्यूनतम खरिद मूल्य निर्धारण
डा. परियार कृषिमन्त्री भएपछि हालसम्मकै सर्वाधिक न्यूनतम खरिद मूल्य तोकेर उखु किसानहरूको असन्तुष्टि सम्बोधन गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ मा उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रूपैयाँ र थप अनुदान रकम ७० निर्धारण गरिएको छ ।
न्यूनतम खरिद मूल्यको निर्धारण र थप अनुदान उखु किसानहरूको आन्दोलनको माग, वार्ता समितिको प्रतिवेदन, मन्त्रालयमा विभिन्न चरणमा उखु किसान र चिनी उद्यमीसँग भएको छलफललाई आधार मानेर गरेका हुन् ।
यसबाहेक उखु उत्पादक किसान तथा चिनि उद्यमीहरूको समस्याहरूको दीर्घकालिन समाधानका लागि उच्चस्तरीय समिति गठन गरेका छन् । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिनिधित्व रहेको छ ।
वेबसाइट सार्वजनिक
मलखाद वितरणमा देखिएको समस्या सम्बोधन गर्न डा. परियार मन्त्री भएपछि छुुट्टै वेबसाइट सार्वजनिक गरिएको छ ।
अनुदानको मल वितरण सूचना प्रणाली अनलाइन ट्रयाकिङ पोर्टललाई परिमार्जित गरी देशभरका किसानहरू आफैंले पालिकामार्फत सहकारी संस्थाहरूबाट वितरण भएको मलको विवरण हेर्न सक्ने गरी उक्त वेबसाइट सार्वजनिक गरिएको हो ।
सरकारबाट अनुदानित रासायनिक मल वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन वेभसाइट प्रभावकारी हुने मन्त्री परियारले विश्वास गरेका छन् ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट हालसम्म चार लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि ग्लोबल टेण्डर आव्हान भइसकेको छ ।
दुई लाख ४३ हजार मेट्रिकटन मल कृषकहरूलाई वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ८३ हजार मेट्रिकटन मल मौज्दात रहेको र एक लाख ३५ हजार मेट्रिकटन मार्गस्थ रहेको छ ।
साथै, आगामी धान रोप्ने सिजनका लागि थप ६० हजार मेट्रिकटन मलखाद आवश्यक हुने र अतिरिक्त रकम अर्थ मन्त्रालयमा अनुरोध गरिएको मन्त्री परियारले बताए ।
मल वितरणमा जातीय भेदभाव !
मन्त्री परियारले विभिन्न ठाउँबाट मल वितरणका क्रममा जातीय भेदभावका कुरा सुन्नमा आएको बताएका छन् ।
कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयहरूमा स्थानीय पालिकाको निर्देशनअनुसार कोटाको मल कुनै पनि जातीय, साँस्कृतिक, साम्प्रदायिक भेदभाव नहुने गरी समानरूपमा बिक्री वितरण गर्न/गराउनका लागि निर्देशन दिए ।
किसानको बक्यौता भुक्तानी
दुग्ध उत्पादक किसानको बक्यौता रकम भुक्तानी भएकोलाई कृषिमन्त्री डा. परियारले उपलब्धिमा समेटेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)ले गत भदौ मसान्तसम्मको दुग्ध उत्पादक कृषकहरूको बाँकी बक्यौता रकम एक अर्ब ३ करोडमध्ये ८१ करोडको भुक्तानी गरेको छ । बाँकी रहेको करिब २२ करोड आगामी फागुन मसान्तसम्म भुक्तानी हुने अपेक्षा मन्त्री परियारको छ ।
कृषिमन्त्री भएपछि डा. परियारले देशको पूर्वी क्षेत्रको जिल्ला पाँचथरको भ्रमणसमेत गरे ।
त्यहाँ उनले बन्द र जिर्ण अवस्थामा रहेको राँके चिज उत्पादन केन्द्रको अवलोकन गरे । दुग्ध कृषकहरूको गुनासो र उत्पादनको खपत बजार सुनिश्चित हुनुपर्ने माग सुने । त्यसपछि २० दिनभित्र नयाँ संरचना बनाउन उत्पादन केन्द्रको व्यवस्थापन पक्षलाई निर्देशन दिएका थिए । हाल द्रुत गतिमा काम भइरहेको र त्यसलाई पनि मन्त्री परियारले १०० दिने उपलब्धि भनेका छन् ।
कृषि बजार सुधार दाबी
मन्त्री परियारले १०० दिनभित्रै कालिमाटी फलफूल तथा तरकारी बजार र अन्य कृषि बजारको सुधार गरेको दाबी गरेका छन् ।
बजारलाई थप व्यवस्थित बनाई प्रभावकारी सञ्चालन गर्न हालको विद्यमान समिति संरचना, पूर्वाधार र व्यवस्थापन सुधारसँगै सरसफाई लगायतका विषयमा निर्देशन दिएका छन् ।
त्यसपछि सोही अनुसार आवश्यक सर्वेक्षण गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएको र प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको भनिएको छ ।
कालिमाटीमा रहेको माछा बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि छुट्टै बजारको परिकल्पना अगाडि बढाएको विषय पनि मन्त्री परियारको उपलब्धिमा समावेश छ ।
उनले चोभारमा निर्माण भई अलपत्र अवस्थामा रहेका फलफूल तथा पुष्प व्यापारका लागि निर्माण भएका बजार संरचनाहरूको स्थलगत अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । यो मन्त्री परियारको अर्को उपलब्धि हो ।
उनी मन्त्री भएपछि नै अत्तरिया, कोहलपुर र धरान कृषि थोक बजारहरूमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला निर्माण कार्य प्रारम्भ भएको छ ।
एक करोड ६९ लाख भूरा वितरण
मन्त्री परियारले १०० दिनभित्रै मकवानपुर, बारा र पर्साका मत्य उत्पादक किसान र मत्स्य प्रवद्र्धन केन्द्रसँग मत्स्य पालनको क्षेत्रमा देखिएका विभिन्न समस्याबारे छलफल गरे ।
आयातित माछासँग प्रतिस्पर्धा, क्षमता विकास तथा बजारीकरणका लागि मूल्यश्रृंखलामा सहजीकरणका विषयमा समेत छलफल गरे । समाधानार्थ आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिए । यसलाई पनि मन्त्री परियारले अर्को उपलब्धि मानेका छन् ।
उनले माछा पालनमा प्रयोग हुने विद्युत् मिटरलाई कृषि मिटरमा समावेश गर्न ऊर्जा मन्त्रालयसँग अनुरोध गरेका छन् ।
यसबाहेक उनले केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुको स्थलगत निरीक्षण गरी नेपालमा उत्पादित माछाको लागत न्यूूनीकरण लगायतका समस्याहरु सम्बोधन गर्न आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।
यस अवधिमा एक करोड ६९ लाख ६१ हजार भन्दा बढी भूरा माछाको उत्पादन गराइ किसानहरूलाई वितरण गरिएको छ ।
मन्त्री परियारले मत्स्य उत्पादन वृद्धि गरी देशलाई माछामा आत्मनिर्भर तर्फ उन्मुख गराउने उद्देश्यले त्यसो गरिएको बताए ।
राष्ट्रिय च्याउ दिवस घोषणा
मन्त्री परियारले च्याउ उत्पादक किसानहरूलाई च्याउ उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पराल ढुवानीमा सहजीकरणका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनुरोध गरेका छन् ।
यस्तै, गुणस्तरीय च्याउको उत्पादन प्रर्वद्धन तथा च्याउ उत्पादन कृषकहरूलाई प्रोत्साहन गर्न मंगलबार (आज) राष्ट्रिय च्याउ दिवस घोषणा गरिएको छ । यसलाई पनि मन्त्री परियारले आफ्नो १०० दिने उपलब्धिमा समेटेका छन् ।
केराकाे बजारीकरणमा जाेडबल
कृषि वैज्ञानिकसमेत रहेका मन्त्री परियारले नेपाली केरा उत्पादक किसान र नेपाली उत्पादनलाई जैविक सुरक्षा प्रदान गर्न आयात नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग अनुरोध गरेका छन् ।
स्वदेशी केरा उत्पादनलाई प्रवद्र्धन गर्न जातीय सम्भावना, आम उपभोक्ताको रोजाइका जात तथा नेपाली केराको बजारीकरणका लागि प्याकेजिङमा सुधार गरी प्रतिस्पर्धी बनाउने रणनीति सरकारले अख्तियार गर्ने पनि मन्त्री परियारले बताए ।
उनले आगामी ४५ दिनभित्र कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
उनले यसबीचमा मह उत्पादन र खाद्य स्वच्छता तथा गुणस्तर सुधारको क्षेत्रमा काम भएको पनि दाबी गरेका छन् । यी त भए कृषिअन्तर्गत १०० दिनमा गरेका उपलब्धि ।
यसबाहेक पशुपंक्षीको क्षेत्रमा सङ्क्रामक तथा महामारीजन्य पशु रोग नियन्त्रणका लागि खोप दिएको, पशुपन्छीको नश्ल सुधार, स्थलगत निरीक्षण र अनुगमन आदि गरेको उपलब्धि भनेका छन् ।
