निर्वाचन आयोगले भन्यो– रवीन्द्र मिश्रलाई दुःख दिएको छैन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ‘दुःख नदिएको’ निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन खर्च विवरणलाई लिएर आयोगले दुःख दिएको मिश्रको गुनासो थियो । उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आयोगमा बुझाएको निर्वाचन खर्च विवरण सार्वजनिक गर्दै लेखेका थिए, ‘यो निर्वाचन आयोगले पनि दुखै दियो ।’
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आयोगले अहिले खर्च विवरण बुझाउन पत्र पठाउने र नबुझाउनेको नाम सार्वजनिक गर्ने केही नगरेको बताए ।
उनले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयमा खर्च विवरण नबुझाउनेको नाम भने त्यसबेलै सार्वजनिक गरिएको बताए ।
‘निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र खर्च विवरण नबुझाउनेको नाम तत्कालीन समयमा सार्वजनिक भयो,’ उनले नेपालवान एचडीसँग भने, ‘तर, अहिले आयोगले नबुझाउनेकाे नाम निकाल्ने, पत्र पठाउने, मिडियालाई दिने केही गरेको छैन ।’
उनले सामाजिक सञ्जालबाट मिश्रले आयोगसँग गुनासो गरेपछि विज्ञप्ति सार्वजनिक गरेर स्पष्ट पार्ने बताए ।
मिश्रले भने २०७९ मा भएको निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भनेर फेरि सूचना जारी गरेको बताएका छन् । उनका अनुसार आयोग कार्यालयमै पुगेर उनले निर्वाचन सकिएको दुई सातामै अर्थात् २० मंसिर २०७९ मै खर्च विवरण बुझाएका थिए ।
विवरणमा २४ लाख ४९ हजार ६०७ रुपैयाँ निर्वाचन खर्च भएको उल्लेख छ ।
साढे ६ करोड रुपैयाँ निर्वाचनमा खर्च गरेको नेतालाई स्पष्टीकरण सोधेर छोडेको तर निर्वाचन कानुनअनुसार खर्च गर्ने र विवरण बुझाउनेको नाममा पटकपटक सूचना जारी गरेर दुःख दिएको मिश्रले बताए ।
मिश्र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– १ मा राप्रपाबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
त्यसअघि पनि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट निर्वाचन लडेका थिए । त्यसबेला पनि उनी सिंहसँग नै पराजित भए ।
