`

लिङदेनको आरोप : कति सिट जित्ने थाहा छैन, प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो

Nepal One HD १६ पुष २०८२ १६:५५
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ भन्नेहरू सिद्धान्त र विचारले नयाँ नभएको जिकिर गर्दै प्रधानमन्त्रीको दलालीमा लागेको आरोप लगाएका छन् । राप्रपा र राप्रपा नेपालबीच बुधबार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नयाँ पार्टीहरू एकाएक जोडिनुलाई शंकाका रुपमा लिएको जनाएका छन् ।

‘नयाँ भन्ने पार्टीहरू कसरी जोडिए ? अघिल्लो दिन एकले अर्कोलाई के भनेर गाली गरिरहेका थिए, रातारात जोडिए । कसले जोड्यो ?,’ अध्यक्ष लिङदेनले भने, ‘जोडिएर के गर्ने भन्ने केही थाहा छैन । कति जित्ने भन्ने थाहा छैन । पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो ।’ नयाँ पार्टीहरू विचारविहीन भएको उनको भनाइ थियो । ‘सिद्धान्त के हो, विचार के हो, स्पष्ट छैन,’ उनले भने । जेनजी आन्दोलनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) पनि कमजोर भएको उनले जिकिर गरे । माओवादी त आफ्नो नामै फेरेर गएको उल्लेख गर्दै लिङदेनले भने, ‘हाम्रो एजेण्डाका लागि यो उर्वर समय हो ।’

यस्तो अवस्थामा आउँदो प्रतिनिधि सभाको चुनावलाई आन्दोनलका रुपमा लिन अध्यक्ष लिङदेनले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘फागुन २१ को चुनाव समस्याको समाधान होइन । जेनजी विद्रोह २०८४ सालको चुनाव २०८२ मा गर्नका लागि भएको होइन । राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सबैको सर्वपक्षीय सहमतिबाट चुनाव गर्नुपर्छ । तर, जबजस्ती गरेर मुलुक चुनावतिर गएको छ,’ उनले भने, ‘चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेछ । चुनावलाई आन्दोलनका रुपमा प्रयोग गर्न, आफ्नो क्षेत्रमा खटिन आग्रह गर्दछु ।’

अध्यक्ष लिङदेनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् । ‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छाडेर जानुभयो, म पार्टीको अध्यक्ष, मैले रोएर हिँड्न पनि नहुने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि नहुने । उहाँ नभएर पनि चल्छ भन्नुपर्‍यो । चलायौं पनि,’ उनले भने । लिङ्देनले भने, ‘तर मनमा एक प्रकारको रिक्तता भइरहेको थियो । आज त्यो पूरा भएको छ । सबै जना बेखुसी हुनुहुन्थ्यो, आज त्यो पूर्ण भएको छ । सबैजना खुसी हुनुहुन्छ, सबैभन्दा बढी म खुशी छु ।’

उनले पार्टीलाई कसैले पनि एक्लै चलाउन नसक्ने भन्दै सबै मिलेर अघि बढ्नु पर्ने बताए । पार्टी अध्यक्षको हिसाबले आफूले त्यसको नेतृत्व लिने पनि बताए । ‘कोही एक्लैले चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो । पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु । तपाईंहरूले अन्यथा सोच्नु पर्दैन, सबैलाई मिलाएर लैजाने जिम्मा मेरो हो,’ अध्यक्ष लिङ्देनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *